January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

दिल्ली भिडन्तमा मृत्यु हुनेको संख्या सात पुग्यो, ३५ जना घाइते

दिल्ली भिडन्तमा मृत्यु हुनेको संख्या सात पुग्यो, ३५ जना घाइते

भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन कानूनको विरोध र समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुबिच भएको भिडन्तमा मृत्यु हुनेको संख्या सात पुगेको छ । अरु ३५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार तीन सर्वसाधारण तथा एक प्रहरीको मृत्यु भएको समाचार संस्था एएनआईले जनाएको छ । मंगलबार बिहान थप तीनजनाको मृत्यु भएको हो । उनीहरुका बारेमा थप विवरण आएको छैन । घाइतेहरुको दिल्लीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दिल्लीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री अमित शाहले बैठक बोलाएका छन् । गृहमन्त्री शाहसँगको बैठक पूर्व दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पत्रकार सम्मेलन गरी भिडन्त भएको क्षेत्रमा प्रहरीको संख्या कम रहेको र प्रहरीसँग कारवाही गर्ने अधिकार पनि नरहेको बताएका छन् । लाठी चार्ज गर्ने तथा हवाई फायर गर्ने बाहेकको आदेश प्रहरीले नपाएको उनले बताएका छन् ।

बाहिरबाट धेरै मानिस आएकाले सीमा बन्द गर्ने तथा शंका लागेकाहरुलाई पक्राउ गर्नु पर्ने उनले बताएका छन् । उनले सबै धर्म मान्ने व्यक्तिको शान्ति बैठक गर्न र त्यसमा स्थानीय विधायक पनि सहभागी हुन भनेका छन् ।

Advertisement