सरकारको भयो जयजयकारः चीनबाट उद्धार गरेका १ सय ६५ जना फर्किए घर
फागुन २०, भक्तपुर – सामान्यतया नेपाल सरकार जिन्दावाद भनेको नारा कमै सुनिन्छ तर सोमबार भक्तपुरको खरीपाटीमा भने नेपाल सरकारको जयजय कार नै भयो ।
सरकारले गएको फागुन ४ गते चीनको वुहानबाट उद्धार गरेर ल्याएको १ सय ६५ जनालाई खरिपाटीको क्वारेन्टाइनमा राखेर घर पठाउँने समयमा सरकारको जयजय कार भएको हो ।
नेपाल सरकार मात्र होइन नेपाली सेना जिन्दावाद भन्ने नारा निकै बेर घन्कियो । चीनबाट उद्धार गरी नेपाल ल्याएर १६ दिन क्वारेन्टाइमा बसेका नेपालीहरूले सरकार र नेपाली सेनाबाट भएको कामको खुला मनले प्रशंसा गरेर घर फर्किएका छन् ।
क्वारेन्टाइनमा बसेकासहित उनीहरुको स्वास्थ्य हेरचाहमा खटिएका सात स्वास्थ्यकर्मीको टोलीलाई सोमबार बिदाइ गर्दा यस्तो दृश्य देखिएको हो छ ।
गएको शनिबार क्वारेन्टाइनमा रहेका सबैको नाक र घाँटीको ’स्वाब’ सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कुनै सङ्क्रमण नदेखिएपछि सरकारले उनीहरुलाई १६ दिनपछि घर पठाइएको हो ।
स्वास्थ्य परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण नभएको खबर आएपछि क्वारेन्टाइनमा बसेका सबैले ताली बजाएर खुशी साटेका थिए भने क्वारेन्टाइनमा गरिएको राम्रो व्यवस्थालाई लिएर सरकारप्रति आभार व्यक्त गर्दै सबैले सरकारको जयजयकारको नारा लगाएका थिए ।
चीनको वुहानमा कोरोना सङ्क्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १ सय ७५ जनालाई गएको फागुन ४ गते उद्धार गरी ल्याएको थियो । उनीहरुलाई भक्तपुर, खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइनको बसाइ पूरा गरी गएको आइतबार नै घर फर्किएका थिए ।
प्रतिकृया दिनुहोस्