June 16, 2024, Sunday
२ असार २०८१, आईतवार

जथाभावी फोहोर फ्याँक्नेमाथी कारबाही सुरु, उठ्यो २४ लाख जरिवाना

जथाभावी फोहोर फ्याँक्नेमाथी कारबाही सुरु, उठ्यो २४ लाख जरिवाना

वीरगञ्च महानगरपालिकाले जथाभावी फोहर फ्याँक्नेहरुमाथि कारबाही सुरु गरेको छ । महानगरपालिकाले गत विसं २०७९ पुस १७ गतेदेखि जरिवाना गर्न सुरु गरेको हो । हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी नौ सय जनाबाट रु २४ लाख ६३ हजार जरिवानाबापतको राजस्व संकलन गरेको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँ ले जानकारी दिएका छन् ।

उनले भने, ‘‘घर, पसल र कार्यालयबाट निष्किने फोहर जताततै फ्याँक्ने स्थानीयहरुको प्रवृत्ति छ”, । “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएकोसमेत उनको भनाइ छ । सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरका ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ ।

यसैगरी, सफा, सुन्दर वीरगञ्जको योजनाअनुसार अहिले बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सरसफाइ गरिरहेको पनि उनले बताए । विगतमा अस्तव्यस्त र दुर्गन्धित नगरकारुपमा परिचित वीरगञ्ज महानगर क्षेत्रलाई मुलुककै नमुना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ ।

Advertisement