राजश्व संकलनमा कमीः कहाँ कति घट्यो राजश्व ?
पुस २२, काठमाडौं ।
मुलुकभित्रै उत्पादन हुने र विलासिताका वस्तुको आयतमा सरकारले करको दर बढाएपछि भन्सार राजश्व संकलन प्रभावित भएको छ । मुलुकभरका भन्सार कार्यालयबाट संकलन हुने राजश्वमा पछिल्लो ५ महिनामा ३ दशमलव ६८ प्रतिशतले गिरावट आएको भन्सार विभागले जनाएको छ ।
अधिकांश भन्सार कार्यलयमा लक्ष्य भन्दा कम राजश्व संकलन भएपछि यो वर्ष १० खर्व ९ अर्वको राजश्व लक्ष्य भेट्न सरकारलाई मुस्किल पर्ने देखिएको छ ।
मूलुकको सबैभन्दा पूर्व नाका मेची भन्सार कार्यालयले लक्ष्यको ७ दशमलव ४१ प्रतिशत अथार्त ३ अर्ब ८८ करोड राजस्व संकलन गरेको छ । त्यस्तै विराटनगर भन्सार कार्यालयमा राजश्व संकलन गत वर्षभन्दा १९ दशमलव २७ प्रतिशतले कमी आएको छ । गतवर्ष १६ अर्ब ४ करोड राजस्व संकलन गरेको विराटनगरले यो वर्ष मंसिरसम्म १३ अर्ब १२ करोड राजस्व संकलन गरेको छ । विराटनगरपछि मुलुककै सबैभन्दा ठुलो वीरगञ्ज भन्सार कार्यालयमा अघिल्लो वर्षको तुलनामा राजस्व संकलन १० प्रतिशत भन्दा बढीले कमी आएको छ ।
मंसिरसम्म ५८ अर्ब ४७ करोड ८४ लाख राजस्व असुली भएको छ । वीरगञ्ज भन्सारले गत वर्ष सोही अवधीमा ६५ अर्ब १६ करोड ९५ लाख रूपैंया राजस्व संकलन गरेको थियो ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालय पनि गत वर्षको तुलनामा ७ दशमलव ९८ प्रतिशतले कम राजस्व संकलन गरेको छ । गत वर्षको ५ महिनामा ८ अर्ब ६ करोड राजस्व संकलन भएकोमा चालु वर्ष सोही अवधीमा ७ अर्ब ४२ करोड रुपैयाँ मात्रै संकलन गरेको छ ।
राजविराज, नेपालगन्ज, महाकाली, कंचनपुर, राजापुर र कृष्णनगर भन्सार कार्यालयले पनि लक्ष्य भन्दा कम राजश्व संकलन गरेको भन्सार विभागको तथ्याङमा उल्लेख छ ।
सिराहाको ठाटी भन्सार कार्यालयले भने लक्ष्यको ३९ प्रतिशत बढी राजश्व संकलन गरेको छ । यस्तै रसुवा भन्सार कार्यालयले पनि लक्ष्य भन्दा ३८ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।
प्रतिकृया दिनुहोस्