सिनेमा हलले कर नतिर्दा राजस्वमा करोडौं घाटा
२०फागुन ,काठमाडौं ।
पछिल्लो समय काठमाडौं उपत्यकाभित्र रहेका सपिङमलहरुमा मल्टिप्लेक्स हल खुल्ने क्रम बढ्दो छ । मुलुककै सवैभन्दा ठूलो चलचित्र बजार काठमाडौंमा सञ्चालनमा रहेका हलले बार्षिक करोडौं रुपैयाँको व्यापार गरेतापनि उनिहरुले कानून अनुसार महानगरलाई बुझाउनु पर्ने कर नबुझाउदा करौँडौको राजस्व घाटा भएको छ ।
अहिले काठमाडौं उपत्यकाभित्र १४ वटा मल्टिप्लेक्स हलहरु रहेका छन् । हलले प्रत्येक दर्शकबाट सिनेमाको मनोरञ्जन दिएबापत एक सय ५० देखि बढीमा तीन सय ५० सम्मको शुल्क लिन्छन् । दैनिक रूपमा दर्शकलाई मनोरञ्जन दिएबापतको शुल्क राम्रै उठाउँछन् । मल्टिप्लेक्स हलले एक सो बराबरको पाँच प्रतिशत महानगरलाई राजस्व बुझउनु पर्ने हुन्छ । तर हलले दर्शकबाट मनोरञ्जनबापत उठाएको कर भने तिरेका छैनन् ।
राजस्व नबुझाउने मल्टिप्लेक्स र सिंगल हलहरु
राजस्व नबुझाउने मल्टिप्लेक्स हलहरुमा भक्तपुर भाटभटेनीको रिगल सिनेमा, गोंगबुको नर्थ सिनेमा प्रालि, नयाँ बसपार्कको ल्होत्से इन्टरटेन्मेन्ट, ललित सिनेमाज् प्रालि र सिटी म्याक्स सिनेमाज् इन्टरटेन्टमेन्ट प्रालि , त्यस्तै सिगंल हलहरुमा बौद्धको सिद्धार्थ हल, कंलकीको पुष्पाञ्जली हल, बालाजुको गंगा हलले महानगरलाई राजस्व बुझाएका छैनन् । त्यस्तै, चावहिलको गोपीकृष्ण हलले यस आर्थिक वर्षको साउन महिनाको मात्र राजस्व बुझाएको छ ।
आर्थिक वर्षको माघ मसान्तसम्म सिनेमा हलबाट एक करोड ६४ लाख ६ हजार नौ सय ९९ रुपैयाँ मात्र राजस्व संकलन गरिएको महानगरले जनाएको छ । राजस्व बुझाउन बाँकी हललाई पत्राचार गरिसकेको र पत्राचार गर्दा पनि राजस्व बुझाएनन् भने कारबाही प्रक्रिया अगाडी बढाउने महानगरले जनाएको छ ।
स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १४१ र नियमावली २०५६ को नियम १४५ अनुसार नागरपालिकाभित्रका सिनेमा हल, भिडियो हल, सांस्कृतिक प्रदर्शनी हलजस्ता मनोरञ्जनसँग सम्बन्धित निकायले दुईदेखि पाँच प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था गरेको छ । तर महानगरले भने समयमा राजस्व नबुझाउने सिनेमा हललाई प्रत्येक महिना पाँच प्रतिशतका दरले जरिवाना थपिँदै जाने महानगरको भनाई रहेको छ ।
प्रतिकृया दिनुहोस्