January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

चाडवाडमा विदेश घुम्ने नेपाली बढ्दा मुद्रा सञ्चितिमै धक्का

चाडवाडमा विदेश घुम्ने नेपाली बढ्दा मुद्रा सञ्चितिमै धक्का

नेपाली चाडपर्वलाई आधार बनाएर विदेश घुम्न जाने क्रम क्रमिक रुपले बढ्दैछ । घुमघाम गर्नु पर्छ भन्ने जनचेतना बढदै जानु अनी सुलभ दरमा विदेश घुम्न पाउँनुले पनि नेपालीको विदेश मोह बढेर गएको छ ।
विदेश घुम्ने मोह, आकर्षक सस्तो र सजिलो टुर प्याकेजका कारण धेरै नेपाली चाडवाढमा विदेश घुम्न जाने गरेका छन् । अरू बेलाभन्दा लामो छुट्टी हुने तथा चाडबाड मनाउने शैलीमा आएको परिवर्तनका कारण नेपाली दशैँ, तिहार पारेर विदेश घुम्न जाने चलन बढ्दै छ । इन्टरनेटको बढ्दो पहुँचका कारण नजिकिँदै गएको बाह्य संसारका साथै विदेश जान सहज र सुलभ हुँदै गएको अवस्थाका कारण नेपालीहरू विभिन्न गन्तव्य जाने क्रम बढेको छ ।
पहिलो पटक जाने यात्रुहरूको रोजाइमा थाइल्यान्ड, सिङ्गापुर, मलेसिया, दुबईजस्ता मुलुक आम नेपालीको रोजाइ बन्दै गएको छ । दोस्रो पटक जानेले चीन लगायतका मुलुक छान्ने र त्यसपछि युरोपतीरको रोजाइ आम नेपालीमा परेको छ ।
सामान्य अवस्थाको तुलनामा दशैँ र तिहारका बेला विदेश यात्रा गर्नेको सङ्ख्या करिब २० देखि २५ प्रतिशतले बढ्ने र यो वर्ष पनि त्यही अवस्था रहेको छ । थाइल्यान्डमा मात्रै वार्षिक करिब ४० हजार सर्वसाधारण घुमघाम गर्नका लागि जाने गरेको नेपाल ट्रार्भल एण्ड टुर्र एशोसियसन (नाटा) को दावी छ । दशैं र तिहारमा मात्र झण्डै २ लाख ३० हजारको हाराहारीमा नेपाली विदेश घुम्न गएका छन् ।
आधिकारिक तथ्याङक बाहेक सङ्गठित रूपमा वा टुर अपरेटरसँग समन्वय नगरिनै विदेश जानेहरूको सख्या पनि बढ्दो छ । त्यसबाहेक विभिन्न व्यावसायिक घराना तथा निजी क्षेत्रका रोजगारदाताले समेत आफ्ना कर्मचारी एवं ग्राहकलाई दशैंलाई आधार मानेर विदेश घुमाउन लाने गरेका छन् ।
विदेशमा नेपालीहरूले गर्ने खर्चको अनुपात बढ्दै गएका कारण २५०० अमेरिकी डलरसम्म साट्न पाउने गरी तोकिएको सीमा घटाएर १५०० अमेरिकी डलर बनाइएको छ । नेपालीहरूले भारी सख्यामा डलर लगायत अन्य विदेशी मुद्रा साट्ने र त्यो विदेशमा खर्च गर्दा मुलुकको विदेशी मुद्रा सञ्चितिमा प्रतिकूल असर पर्ने गरेको छ ।

Advertisement