सात महिनामै चौधवटै हिमाल चढेर निर्मल पुर्जाले बनाए विश्व रेकर्ड
१३ कार्तिक, काठमाडौ– नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान राखेका छन् ।
ब्रिटिस सेनाबाट निवृत्त ३६ वर्षीय पुर्जाले मङ्गलवार बिहान चीनको शीशापाङ्मा हिमालको चुचरोमा पुगेर नयाँ किर्तिमान राखेका हुन् । सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्रा गर्दा उनले सगरमाथा चढ्ने अठोट गरेर आरोहीको रूपमा जीवन शुरू गरेका थिए ।
सगरमाथा, लोत्से र मकालु हिमाल पाँच दिनमा चढेका प्ुर्जाले सगरमाथा आरोहणको क्रममा चारजना अरू आरोहीहरूको उद्धार समेत गरेका थिए । उनले गएको एप्रिलमा आफ्नो अभियान शुरू गरेर मेमा सगरमाथा चढेका थिए भने हिजो मात्र १४ बटै हिमाल चढेर विश्व किर्तिमान राखेका हुन् ।
सेप्टेम्बरमा उनको अभियान तिब्बतमा रहेको शीशापाङ्मा हिमाल चढ्न चिनियाँ सरकारले अनुमति नदिँदा रोकिएको थियो । नेपाल सरकारले चिनियाँ सरकारलाई अनुरोध गरेपछि उनले अक्टोबर १५ मा अनुमति पाएका थिए ।
यसअघि सो कीर्तिमान पोल्यान्डका जेर्जी कुकुक्जाको नाममा थियो जसले आठ वर्ष लगाएर सन् १९८७ मा सो चुनौती पूरा गरेका थिए । सन् २००३ मा ब्रिटिस सेनामा पुगेका पुर्जालाई सन् २०१८ मा रानी एलिजावेथले एमबीई प्रदान गरेकी थिइन् ।
उनले चढेका हिमाल र सफल आरोहणको मिति:
- अन्नपूर्ण, नेपाल, एप्रिल २३
- धौलागिरी, नेपाल, मे १२
- कञ्जनजङ्गा, नेपाल, मे १५
- सगरमाथा, नेपाल, मे २०
- लोत्से, नेपाल, मे २२
- मकालु, नेपाल, मे २४
- नाङ्गापर्वत, पाकिस्तान, जुलाई ३
- जी १, पाकिस्तान, जुलाई १५
- जी २, पाकिस्तान, जुलाई १८
- के २, पाकिस्तान, जुलाई २४
- ब्रोड पिक, पाकिस्तान, जुलाई २६
- चो यू, चीन, सेप्टेम्बर २३
- मनास्लु, नेपाल, सेप्टेम्बर २७
- शीशापाङ्मा, चीन, अक्टोबर २९
प्रतिकृया दिनुहोस्