सुरु भयो गजुरमुखीमा धार्मिक तथा पर्यटकिय मेला
२८ कात्तिक २०७६, काठमाण्डौ ।
इलामको माङ्सेबुङमा रहेको धार्मिक तथा पर्यटकिय स्थल गजुरमुखीमा कात्तिके पूर्णिमाको अवसरमा लाग्दै आएको धार्मिक तथा पर्यटकीय मेला मंगलबारबाट सुरु भएको हो । यो मेला परापूर्व कालदेखि नै लाग्दै आएको पाइन्छ ।
माङसेबुङ गाउँपालिका–१ मा रहेको प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाम नजिकै देउमाई खोलाको किनारमा मेला लागेको हो । मेलामा रमाइला गर्न तथा धाममा दर्शन तथा पूजापाठ गर्ने भक्तजनहरूको भीड लागेको छ । धाम आसपासमा अस्थायी टहराहरू निर्माण गरेर होटल सञ्चालन गरिनुको साथै बिभिन्न किसिमका व्यापारिक स्टलहरू समेत राखेर व्यापार भइरहेको छ । स्थानीयहरूले गाउँठाउँमा उत्पादन गरेका कृषिउपज देखि प्लास्टिक, स्टिल तथा तामाका सामानहरू समेत बिक्रीका लागि राखिएको छ ।
मेलामा नेपाल देखि बाहेक भारतको सिक्किम, मिरिक, दार्जिलिङबाट समेत पर्यटक तथा भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ ।
मेलालाई सभ्य, भव्य र व्यवस्थित ढंगबाट सम्पन्न गर्नको लागि गजुरमुखी धाम बजार व्यवस्थापन समिति गठन गरिएको छ । त्यस्तै, मेलामा हुनसक्ने सम्भावित झै–झगडा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिएको छ ।
गजरमुखी धाममा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । बोली नआएकाहरूको बोलि आउने र सन्तान नभएकाहरूको सन्तान प्राप्ति हुने धार्मिक विश्वास छ । एक पटक गजुरमुखी पुगेर नहुने मनोकांक्षा पुरा भएपछि पुन भाकल पूरा भएको सुनाउन पनि गजुरमुखी जानै पर्ने मान्यता छ ।
इलाम सदरमुकामबाट मेची राजमार्गको नेपालटार पुगेर देउमाई नगरपालिकासम्म पक्की सडक र त्यहाँबाट करिब डेढघण्टा कच्ची सडक गाडीमा नै यात्रा गरेपछि गजुरमुखी पुग्न सकिन्छ ।
प्रतिकृया दिनुहोस्