नेपाल भ्रमण गर्न ७१ देशका प्रतिनिधिलाई मन्त्री भट्टराईको निम्तो
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पुर्याइदिन आग्रह गरेका छन् ।
नवौं विश्व रेन्जर सम्मेलनको शनिबार सौराहामा समापन गर्दै उनले आफ्ना परिवार, इष्टमित्र र साथीभाइलाई भ्रमण वर्षको निम्तो पुर्याइदिन उनले आग्रह गरेका हुन् ।
नेपाल जैविक, प्राकृतिक र सांस्कृतिक दृष्टिले असाध्यै धनी देश भएको सम्मेलनका क्रममा सहभागीले जानकारी पाएकोमा आफू विश्वस्त भएको भन्दै मन्त्री भट्टराईले यहाँको पर्यटकीय महत्वलाई विश्वभर पुर्याउन भ्रमण वर्ष फलदायी हुने बताए ।
नेपालको भूवनोट तराईदेखि हिमालसम्म फैलिएको उनको भनाइ थियो । संरक्षण क्षेत्रमा काम गर्नेहरुकै कारण आज विश्वमा वन र वन्यजन्तु संरक्षण हुन सकेको भन्दै उनले सबै सहभागी संरक्षणकर्मीप्रति आभार प्रकट गरे ।
विश्वका विभिन्न देशबाट यहाँ भेला भएर गरिएको सो सम्मेलन संरक्षण क्षेत्रमा फलदायी हुने कुरामा आफू विश्वस्त भएको मन्त्री भट्टराईको भनाइ थियो । समुदायमा आधारित भएर गरिने संरक्षण कार्यमा नेपाल उदाहरणीय रहेको उनले बताए ।
सो अवसरमा अन्तर्राष्ट्रिय रेन्जर महासंघ (आइआरएफ) का नवनियुक्त अध्यक्ष क्रिस गिल्सले सम्मेलनमा भएका छलफल र निचोडलाई आत्मसात गर्दै महासंघलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले सम्मेलनका लागि नेपाल रोजेकामा सबैलाई धन्यवाद दिँदै सफलतापूर्वक सम्मेलन सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।
सम्मेलनले चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणमा विश्वभर सहकार्य गरेर पृथ्वीको उपहार वन्यजन्तु भावी पुस्ताका लागि संरक्षण गर्न जरुरी भएको भन्दै चितवन घोषणापत्र २०१९ जारी गरेको छ ।
घोषणापत्रमा रेन्जरका हकहित, रेन्जर र समुदायबीचको सम्बन्ध, संरक्षणमा आदिवासी रैथाने समुदायको भूमिका, रेन्जरको क्षमता विकास, संरक्षणमा प्रविधि, महिला रेन्जरको भूमिका र भावी दिनमा रेन्जरले गर्नुपर्ने कार्य समावेश गरिएको छ ।
चितवनको पर्यटकीय नगरी सौराहामा कात्तिक २६ गते सुरु भएको सम्मेलनमा नेपालसहित ७२ देशका ५ सय २६ प्रतिनिधि सहभागी थिए । (रासस)
प्रतिकृया दिनुहोस्