शरद ऋतुमा हिमाल आरोहण अनुमतिको रोयल्टी ६ करोड बढी संकलन
११ मंसिर, २०७६, काठमाण्डौ । पर्यटन विभागले जनाए अनुसार, शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट ६ करोड ४० लाख ८८ हजार ८४ रुपैयाँ रोयल्टी संकलन भएको छ । ६२ देशका १ हजार १ सय ६२ आरोहीबाट यो रोयल्टी संकलन भएको हो ।
विभागका अनुसार शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति अनुमति लिनेमा पुरुष ९ सय १५ र महिला २ सय ४७ जना रहेका छन् । जसमध्ये सबैभन्दा बढी २७ समूहका ३ सय १६ जनाले आमादब्लम हिमालको आरोहण अनुमति लिएका छन् । जसबाट १ कारोड ४० लाख ३६ हजार ३ सय रुपैयाँ रोयल्टी संकलन भएको छ ।
सबैभन्दा बढी रोयल्टी भने मनास्लु हिमाल आरोहण अनुमतिबाट उठेको छ । मनास्लुबाट मात्रै २ करोड ७० लाख ८५ हजार ६ सय रुपैयाँ रोयल्टी संकलन भएको छ । मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २ सय ६४ जनाले अनुमति लिएका छन् ।
त्यसैगरी धवलागिरि हिमाल आरोहणबाट ३२ लाख ८ हजार ५ रुपैयाँ रोयल्टी संकलन भएको छ । यो हिमाल आरोहणका लागि तीन समूहका ३१ जनाले अनुमति लिएका छन् । यता थापा पिक आरोहण अनुमतिबाट ११ लाख ८९ हजार ३ सय १२ रुपैयाँ संकलन भएको पर्यटन विभागले जनाएको छ ।
वसन्त ऋतुमा आरोहीको भिड लाग्ने विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि २ समूहका १० जनाले अनुमति पाएका थिए । उनीहरुबाट सरकारले ६३ लाख ११ हजार ८ सय रोयल्टी संकलन गरेको छ ।
सगरमाथा आरोहण असफल भएपछि उनीहरु फर्किसकेका छन् । शरद ऋतुमा आरोहणका लागि मौसम सामान्य अनुकुल हुने भए पनि उच्च गतिको हावाको कारण जोखिम हुने आरोहीहरुको भनाइ छ ।
सगरमाथा आधारशिविरदेखि क्याम्प १ सम्मको अति जोखिम युक्त बाटो निर्माणको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार शरद ऋतुमा बाटो निर्माण गर्दा खर्च बढी लाग्छ । त्यसैले यो समयमा आरोही समूहले नै बाटो निर्माण गर्दै जानुपर्ने हुन्छ । उहाँका अनुसार वसन्त ऋतुमा ६०० अमेरिकी डलरमा क्याम्प एक सम्मको बाटो बनाउने सकिने भए पनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्ने समितिले जनाएको छ ।
नेपाल सरकारलेसमेत शरद ऋतुमा हिमाल आरोहणका लागि पूर्वाधार निर्माणमा खासै चासो राखेको पाइँदैन ।
प्रतिकृया दिनुहोस्