‘हिउँपर्यो फूरुरु,‘ शुक्रबार काठमाडौ उपत्यका वरिपरि डाँडौमा
मंसिर २७, काठमाडौं
शुक्रबार काठमाडौं वरपरका डाँडाहरुमा फूरुरु हिउँ परेको छ । धेरै वर्षपछि शिवपुरी–नागार्जुन निकुञ्जसहित ललितपुरको फुलचोकी, भक्तपुरको नगरकोट र चन्द्रागिरीमा हिउँ परेको हो । शुक्रबार विहानै चन्द्रागिरी हिल्समा हिउँ परेको थियो ।
काठमाडौंसहित मकवानपुरको दामन, टिस्टुङ, दोलखाको चरिकोट, कालिन्चोकलगायतका स्थानमा पनि बाक्लो हिउँ परेको छ । पश्चिमी वायु प्रणाली र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुका कारण बिहिबार देखि नै हिमाली क्षेत्रका अधिकांश जिल्लामा हिमपात भएको छ ।
बुधबार रातिबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि हिमाली भेगमा हिमपात तथा तराई र पहाडका क्षेत्रमा वर्षा र शीतलहर सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हुम्लासहित कर्णालीका उच्च हिमाली भाग, मुस्ताङलगायतका क्षेत्रमा शुक्रबार बिहानैदेखि भारी हिमपात भइरहेका छन् । मुस्ताङको न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियम झरेको छ । तापक्रम घटेपछि यहाँका खोला तथा ताल जमेका छन् भने जनजीवन प्रभावित भएको छ । मौसम विज्ञान विभागका अनुसार हिमपातले डोटी, डोल्पालगायत क्षेत्रको जनजीवन पनि प्रभावित भएका छन् ।
पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपात भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा अनुरोध गरेको छ ।
विभागका अनुसार, हिमपातको यो सिलसिला मंसिर २९ गतेसम्म जारी रहनेछ । त्यस्तै तराईका भाग भने शीतलहर र तुवालोको चपेटामा परेका छन् । बुधबारदेखि विकसित मौसमी प्रणालीले विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, काठमाडौंसहित दीपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्जलगायत स्थानमा वर्षा भएको छ । बिहान ८ः४५ सम्ममा सबैभन्दा धेरै धनगढीमा ४५ मिलिमिटर वर्षा भएको छ । नेपालगञ्जमा १४ र डडेल्धुरामा ६ मिलिमिटर वर्षा मापन भएको छ । काठमाडौंमा पनि शुक्रबार बिहान र दिउसो सामान्य वर्षा भैरहेको छ ।
प्रतिकृया दिनुहोस्