January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

घुम्नैपर्ने देशमा नेपाल पहिलो स्थानमा

घुम्नैपर्ने देशमा नेपाल पहिलो स्थानमा

पुस १, काठमाडौं ।
भनिन्छ नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । हिमाल देखि तराई, पूर्व देखि पश्चिम, भौगोलिक हिसाबले सानो भएतापनी हजारौँ जात जाती, भाषाले भरिपूर्ण रहेको देश सायद विश्वमा नेपाल मात्र होला । विश्वको सर्वोच्च शिखर सगरमाथा होस वा आठ हजार मिटर माथिका आधा दर्जन भन्दा बढी हिमाल हाम्रो देश नेपालमा नै छ । विश्वमा शान्तिको सन्देश प्रवाह गर्ने गौतम बुद्धको जन्मभुमि लुम्बिनी समेत नेपाल हो ।

Advertisement


फोब्र्सले नयाँ दशकका लागि घुम्नुपर्ने देशका रूपमा तयार गरेको ‘बकेट लिस्ट’मा नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको छ । ‘एडभेन्चर’देखि गुणस्तरीय पर्यटनसँग सम्बन्धित रहेर विश्वका विभिन्न छ वटा महादेशमध्येबाट फोब्र्सले १० वटा देश यो सूचीमा राखेको हो । चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ । “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो ।”,
“अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन । ” झोले पर्यटन (ब्यागप्याकिङ) मात्र नभई नेपालमा ‘एड्भेन्चर’देखि हरेक किसिमका पर्यटकीय अनुभव गर्न सकिने भन्दै फोब्र्सले नेपालको पर्यटनको विस्तारित रूप प्रस्तुत गरेको हो । योग र ध्यानका लागि पर्याप्त स्थानहरूको विवरण पनि फोब्र्सले प्रस्तुत गरेको छ । “विश्वमा योगध्यान प्रचलनमा आउनुभन्दा अघि नै नेपालबाट यसको सुरुआत भएको हो”, फोब्र्सले उल्लेख गरेको छ ।

Advertisement


नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको फोब्र्सले यहाँको छिनमै बदलिने मौसमको वर्णन मात्र गरेको छैन, आगामी दशकको सुरुआत (सन् २०२०)मा घुम्नैपर्ने १० वटा देशको सूचीमा नेपाललाई पहिलो स्थानमा समाबेश गरेको छ ।
न्युयोर्क राज्य बराबरको क्षेत्रफल भएको देशमा पनि फरक किसिमको भौगोलिक विविधताको अनुभव गर्न सकिने फोब्र्सले उल्लेख गरेको छ । नेपाल घुम्ने उपायबारे थप सुझाव पनि फोब्र्सले दिएको छ । फोब्र्सका अनुसार नेपाल भ्रमण दक्षिणतर्फबाट जङ्गल सफारी गरेर सुरु गर्दा गज्जबको अनुभूति हुने छ । हात्तीसँग हिँड्दै चितवनका जङ्गल घुम्न र नारायणी नदीमा हात्तीले नुहाएको हेर्न पनि फोब्र्सले सुझाव दिएको छ ।
यसबाहेक अझ उच्चस्तरको अनुभवका लागि सगरमाथाको काखमा ‘बे्रकफास्ट’लाई पनि पर्यटकीय गतिविधिका रूपमा फोब्र्सले उल्लेख गरेको छ । हेलिकप्टर लिएर १८ हजार फिटमाथि गई आफ्नो अनुकूलतामा रमाइलो गर्न पाउने क्षणलाई खर्चभन्दा अनुभवका रूपमा लिन फोब्र्सले सुझाएको छ ।


फोब्र्सको यो सूचीमा नेपालपछि दक्षिण अमेरिकी मुलुक इक्वेडर छ । त्यसपछि क्रमशः न्युजिल्यान्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्यान्ड, केन्या परेका छन् ।
यस अगाडि पनि पर्यटकीय दृष्टिकोणले उत्कृष्ट १० देशको सूची पटक पटक नेपाल पर्दे आएको थियो । बेलायतको रफ गाइड्सले पारेको सूचीमा पनि नेपाल पहिलो स्थानमा परेको थियो, सन् २०१६ मा घुम्नैपर्ने उत्कृष्ट १० देशमध्ये नेपाल प्रथम स्थानमा राखेको थियो ।
त्यस्तै ट्रीप एड्भाइजर अनुसार विश्वको घुम्नु पर्ने स्थानमा नेपालको काठमाडौँ अग्रस्थानमा पर्ने गरेको छ । त्यस्तै प्लानेटवेयारले मन्दिरहरुको सहर भनेर चिनिने काठमाडौँ, भक्तपुर, बुद्दनाथ स्तुपा, पोखरा, अन्नपूर्ण पदयात्रा क्षेत्र, चितवन राष्ट्रिय निकुन्ज, लांगटांग पदयात्रा क्षेत्र, स्वम्भुनाथ, विश्वकै सर्वोच् शिखर सगरमाथा आधार शिविर पदयात्रा, लुम्बिनीलाइ नेपालका प्रमुख दश पर्यटकीय क्षेत्रका रूपमा उल्लेख गरिएको छ ।