पाँच करोड खर्चेर ‘भ्रमण बर्ष २०२०’ को भब्य सुभारम्भ गरिदै, उदघाटनमा ३४ देशका प्रतिनिधी उपस्थित हुने
पुस १६, काठमाडौं ।
‘नेपाल भ्रमण वर्ष २०२०’ आजबाट विशेष रुपमा झण्डै पाँच करोड खर्च गरेर औपचारिक सुरुवात गरिदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको दशरथ रंगशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई विशेष सम्बोधन गर्नेछन् । अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक समारोह पाँच घण्टासम्म चल्ने भ्रमण वर्ष सचिवालयले जनाएको छ । पाँच घण्टाको खर्च मात्रै पाँच करोड माथि हुने सचिबालयका एक सदस्यले बताएका छन् । नेपालका मौलिक संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ । समारोहमा भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । राष्ट्रगान सकिएलगत्तै बाजागाजासहित रंगशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । जुन कार्यको लागि पाँच करोड खर्च हुने सचिबालय सदस्यको दाबी छ ।
नेपाल भ्रमण वर्ष २०२० को उदघाटन समारोहमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना काठमाडौं आएका छन् । भ्रमण वर्षको उदघाटन समारोहमा सहभागी हुन चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ काठमाडौं आएका छन् ।
यस्तै भुटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरु पनि काठमाडौं आएका छन् । उदघाटन कार्यक्रमका लागि दक्षिण एशियाली, मध्यपूर्वी, युरोपलगायत मुलुकका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधिहरु नेपाल आएका छन् ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
प्रतिकृया दिनुहोस्