भ्रमण वर्षः एक रुपैयाँमा पर्यटकलाई बास अनी बिहान बेलुकाको खाना
पुष १७, काठमडौं ।
आजको महँगीमा पनि एक रुपैयाँमा खाना र बस्न पाइन्छ भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ ? भएको पनि यस्तै छ ।
नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाउने थालेको छ ।
एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा पर्यटकलाई बास बसाएका हुन् । सन् २०१९ को अन्तिम दिन मङ्गलबार होटल ‘बुक’ गर्न पुगेका पहिलो (सेवाग्राही) पर्यटकलाई एक रुपैयाँमा बास बसाउनुका साथै सोही रकममा दुई छाक खानाको व्यवस्था गरेका छन् ।
विदेशी पर्यटकले आफ्नो देशमा फर्किएपछि नेपाल भ्रमण वर्ष सन् २०२० को राम्रो प्रचार गरुन् भनेर यस्तो कार्यक्रम ल्याइएको होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौडेलले बताए । उनका अनुसार पहिलोपटक इलाम बजारमा जापानी पर्यटक युकिड मितामुरा एक रुपैयाँमा बास बसेका छन् । चियाबारी कटेजले मितामुरालाई एक रुपैयाँमा नै बास बसाउनुका साथै बेलुका र बिहानको खाना खुवाएको छ ।
होटल व्यवसायी सङ्घ इलामले भ्रमण वर्षलाई लक्षित गरी अघि सारेको योजनाअनुसार इलामको चियाबारी कटेजसहित ग्रिन भ्यू होटल, समिट होटल, हाम्रो पोख्रेली होटल र ग्रिनसिटी गेष्ट हाउसमा पाँच जना पर्यटकलाई भाग्यमानी पर्यटकको रुपमा लिँदै सो सुविधा प्रधान गरिएको थियो । उनीहरुलाई स्वागतसहित प्रमाणपत्र वितरण गरी इलामको पर्यटन सद्भावदूतका रुपमा घोषणासमेत गरिएको छ ।
होटल व्यवसायी तथा चियाबारी कटेजका प्रोपाइटर थेवा तामाङले होटल व्यवसायीको नाताले विदेशी पर्यटकलाई आफूले स्वागत गर्न पाएकामा खुशी व्यक्त गरे । विदेशी पर्यटकले समेत आश्चर्यमा पर्दै इलामसहित नेपालको प्रचार गर्ने बताएका छन् । भ्रमण वर्षलाई सफल बनाउन इलामबाट काठमाडौँ चल्ने सुभेक्षा ट्राभल्सले आजदेखि सात दिनसम्म काठमाडौँबाट इलाम भित्रिने एक जना पर्यटकलाई निःशुल्क ल्याउने व्यवस्था गरेको छ । नेपाल भ्रमण वर्ष शुरु भएको पहिलो दिन उद्घाटनसहित विभिन्न कार्यक्रम भएका छन् ।
प्रतिकृया दिनुहोस्