August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

धौलागिरि हिमाल आरोहण : पदमार्ग सुनसान भएपनि आधार शिविरमा चहलपहल

धौलागिरि हिमाल आरोहण : पदमार्ग सुनसान भएपनि आधार शिविरमा चहलपहल

म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ । यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन ।

Advertisement

तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ । पर्यटकले हेलिकप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन भने हिमालको आधार शिविरमा चहलपहल बढ्न थालेको हो ।

Advertisement

धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारकै सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आरोहण र आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटक यतिबेला हेलिकप्टरको प्रयोग गर्न थालेका छन् ।

सरकारले भदौ दोस्रो सातादेखि हिमाल आरोहण खुलाएसँगै धौलागिरिको आरोहण र भ्रमण गर्न बाह्य तथा आन्तरिक पर्यटक आउन थालेका छन् । ‘अधिकांश आरोही, पर्यटक, पथपर्दशक, भरियालगायत हेलिकोप्टरमार्फत आधार शिविर पुग्न थालेका छन्’, धौलागिरि–४ बगरका सुकबहादुर सुनारले भने, ‘यस याममा ६ शेर्पा मात्र पदमार्ग हुँदै आधार शिविर गएका छन् ।’ हेलिकप्टरको प्रयोग गरी झण्डै ८० जना आधार शिविर पुगेका उनले बताए । केही पर्यटक मुस्ताङको मार्फा हुँदै आधार शिविर पुगेका छन् ।

अघिल्ला वर्षहरुमा एउटा याममा दुई पटकसम्म खच्चडबाट सामान ढुवानी गरी आधार शिविर पुर्‍याउने गरिन्थ्यो । यस पटक भने पदमार्ग हुँदै पर्यटकको आगमन भएको छैन । केही वर्षयता धौलागिरि जाने पर्यटकले हेलिकोप्टरको प्रयोग बढी गर्न थालेका छन् ।

काठमाडौंबाट विभिन्न सवारीसाधन प्रयोग गरी धौलागिरि–७ ताकम र त्यहाँबाट हेलिकोप्टरमा आधार शिविर पुग्ने क्रम बढेको छ । पदमार्ग सुनसान बन्दा स्थानीय होटल व्यवसायी र खच्चड व्यवसायी मारमा परेका छन् ।

आधार शिविरमा पर्यटकको बाक्लो उपस्थिति हुँदा पदमार्गअन्तर्गतका दोभान र इटाली क्याम्पका होटल पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन् । पदमार्गको यात्रा लामो, जोखिमपूर्ण र सञ्चार पहुँचभन्दा टाढा हुँदा पर्यटक महँगो शुल्क तिरेरै हेलिकोप्टरमा गन्तव्यतर्फ लाग्ने गरेका छन् । पछिल्लो समय पदमार्गमा गाउँपालिका, प्रदेश र संघीय सरकारले समेत पदमार्ग निर्माण गर्दै आएका छन् भने सञ्चारको पहुँचसमेत बढाउँदै लगिएको छ ।

अक्कर पहाड, जंगल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धौलागिरि पदमार्गको यात्रा साहसिक मानिन्छ । भदौ अन्तिम सातादेखि आधार शिविरमा ओरोही पुग्ने क्रम बढेको छ । यस याममा आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगी आधार शिविरमा पुगेका छन् । ‘सेभेन समिट ट्रेक्स’बाट आरोहणका लागि ४६ जनाको टोली आधार शिविरमा पुगेको छ । ‘पाइनर एडभेन्चर’ र ‘हिमालयन गाईड’मार्फत पनि पर्वतारोही आधार शिविरमा पुगेका छन् ।

सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाई भारी वर्षा र ७२ घण्टे पीसीआर रिपोर्टको मापदण्डका कारण अधिकांश आरोही म्याग्दीबाट हेलिकोप्टरमा आधार शिविर पुगेको बताउँछन् । उनीहरु विभिन्न सवारी साधनमा धौलागिरि–७ ताकम र मंगला गाउँपालिकाको बाबियाचौर हुँदै त्यहाँबाट हेलिकोप्टरमा आधार शिविर पुगेका हुन् । ‘हाम्रो व्यवस्थापनमा यस याममा २६ विदेशी र २१ नेपाली पर्वतारोहीले धौलागिरिको आरोहण गर्दै छन्’, उनले भने ।

धौलागिरिको पहिलो आरोहणको तयारीमा रहेकी पत्रकार पूर्णिमा श्रेष्ठले आफू मार्फा हुँदै पदमार्ग भएर आधार शिविरतर्फ प्रस्थान गरेको जानकारी दिइन् । उनले गत वर्ष वैशाखमा नेपाली महिलाको तर्फबाट पहिलोपटक धौलागिरिको सफल आरोहण गर्ने प्रयास गरेकी हुन् । ‘त्यो बेला आधार शिविरमा कोरोना संक्रमण फैलिएपछि आरोहण स्थगित गर्‍यौं’, उनले भनिन् । यस पटक तीन महिला पुनः आरोहणका लागि आधार शिविर गएका छन् । पदमार्ग पहिरोका कारण जोखिमपूर्ण रहेको श्रेष्ठले बताए । रासस