April 30, 2025, Wednesday
[nepali_today_date]

कोरोना आतंकले पर्यटक आगमनमा धक्का

२० माघ, काठमाडौं ।
भारत, चीन, जापान देखि धेरै देशका पर्यटकले धमाधम पूर्वनिर्धारित नेपाल आउने तालिका रद्द गरिरहेका छन् । यस भित्रको एक कारण हो विश्वमा फैलिएको कोरोना आतंक । कोरोना भाइरसको संक्रमणले गर्दा चिनीयाँ पर्यटकको आगमन त सोचेभन्दा पनि तल झरेको छ ।
मुख्य सिजन मानिने यो समय यसरी होटल बुकिङ रद्द हुन थालेपछि यसको असर आगामी वैशाख जेठसम्मै पर्ने होटेल एसोसियसन अफ नेपालले जनाएको छ । यसको सबैभन्दा ठूलो असर नेपाल भ्रमण वर्ष २०२० लाई पर्ने स्पष्टै देखिएको छ ।

कोरोना भाइरस व्यापक रुपमा फैलिएपछि दुई सातायता चिनियाँ पर्यटक मात्रै नभई अन्य मुलुकबाट आउनेको संख्या पनि घटेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
कोरोना भाइरस मात्र होइन नेपाल भ्रमण वर्ष २०२० को शुरुआती महिनामै भएका घटनाले पनि यतिबेला सिंगो पर्यटन बजार प्रभावित छ । अन्नपूर्ण पदयात्राका क्रममा हिउँ पहिरोमा परेर ४ जना दक्षिण कोरियाली नागिरक सहित ७ जना बेपत्ता भएको देखि मकवानपुरको सिमभन्ज्याङको एक होटलमा ८ जना भारतीय पर्यटकको निसास्सिएर मृत्यु भएको घटनाले पनि पर्यटक नेपाल आउँने क्रम घटेको छ । यस्ले मुलुकमा २० लाख पर्यटक भित्राउने योजनामा धक्का लागेको देखिन्छ ।
नेपालमा पर्यटक आगमनको दोस्रो ठूलो स्रोत रहेको चीनमा कोरोना भाइरस संक्रमण महामारीमा रूपमा फैलँदा त्यहाँबाट हुने पर्यटक आगमन पछिल्लो १ सातायता लगभग ठप्पजस्तै छ । नेपाल उडान गर्ने चिनियाँ विमान कम्पनीहरूले यो सातादेखि काठमाडौं उडान स्थगित गर्दै छन् भने चीनका पाँच शहरमा उडान गर्ने नेपाली निजीक्षेत्रको हिमालय एयरलाइन्सले तत्कालका लागि चीनका केही गन्तव्यमा आफ्नो उडान बन्द गरेको छ ।
नेपाल आउने चिनियाँ पर्यटकको कुल संख्याको झन्डै ४० प्रतिशत जनवरीदेखि अप्रिलसम्मको ४ महीनामा आउने तथ्यांकले देखाउँछ । तर, सन् २०२० को शुरुआती महीनामै चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या करीब १३ प्रतिशतले घटेको छ ।
अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीमा चिनियाँ पर्यटकको आगमन घटेर झन्डै १२ हजारको आसपासमा सीमित देखिएको छ, जबकि यो संख्या सन् २०१९ को जनवरीमा १३ हजार ६८७ रहेको थियो । भ्रमण वर्षको सफलताका लागि यो वर्ष चिनियाँ पर्यटकको आगमनमा हुने वृद्धिलाई महत्त्वपूर्ण मानिएको थियो ।
अध्यागमन विभागको तथ्यांकअनुसार, सन् २०१९ मा हवाइ तथा स्थल मार्गहुँदै ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल आएका थिए । धेरै पर्यटक आउने देशमध्येमा दोस्रो स्थानमा रहेको चीनबाट एक लाख ६९ हजार ५४३ जना रहेको छ । सन् २०१९ को तुलनामा सन् २०२० मा एक लाख ८० हजार ४५७ जना थप गरेर तीन लाख ५० हजार पु¥याउने सरकारले अपेक्षा गरेको थियो ।
नेपालले सन् २०२० मा २० लाख पर्यटक भित्रर्याउदै चीनबाट ४ लाखभन्दा बढी पर्यटक भित्रर्याउने आँकलन गरेको थियो ।

Advertisement