यसकारण हुन थाल्यो नेपालमा पर्यटक बस्ने होटेल सुनसान
२५ माघ, काठमाडौं ।
जनवरी १ तारिखमा काठमाडौंको दशरथ रंगशालामा नेपाल भ्रमण वर्षको शुभारम्भ हुँदा एक वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको थियो । त्यहि अनुसार, पर्यटक आउने अनुमान पनि गरिएको थियो । तर, चीनबाट फैलिएको नोबल कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पर्यटक प्रभावित हुन थालेका छन् ।
भाइरस संक्रमणका कारण जनवरी महीनामा नेपाल घुम्न आउने चिनियाँ पर्यटकको आगमनमा प्रभाव पारेको छ । नेपाल आउने चिनियाँ पर्यटकको कुल संख्याको झन्डै ४० प्रतिशत जनवरीदेखि अप्रिलसम्मको ४ महीनामा आउने गरेका छन् । तर, सन् २०२० को शुरुआती महीनामै चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या करीब १३ प्रतिशतले घटेको छ ।
नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमै प्रमुख पर्यटकीय गन्तव्यबाट पर्यटक आगमनमा कम हुन थालेको र कोरोना भइरसले थप पर्यटक आगमनमा कमी आउने अवस्था देखिएको छ। जसका कारण भ्रमण वर्षको लक्ष्यप्रति चुनौती थपिएको छ ।
अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीमा चिनियाँ पर्यटकको आगमन घटेर झन्डै १२ हजारको आसपासमा सीमित देखिएको छ, जबकि यो संख्या सन् २०१९ को जनवरीमा १३ हजार ६८७ रहेको थियो । नेपालमा पर्यटक भित्रिने देशमध्ये भारत पछि चीन दोस्रो स्थानमा रहेको छ ।
केही दिनयता चीनको हुबाइ प्रान्तको राजधानी वुहानमा देखा परेको कोरोला भाइरसका कारण नेपाल आउने पर्यटक न्यून भएका छन्। भाइरसका कारण चीन सरकारले आफ्ना नागरिकलाई देश बाहिर नजान निर्देशन दिएपछि नेपाल आउने चिनियाँ पर्यटकको संख्या घटेको हो। चीनले आफ्ना नागरिकलाई अन्य देशमा जान रोक लगाएका कारण नेपाल आउने पर्यटकले होटलको बुकिङ रद्द गर्न थालेका छन् ।
नेपालका पर्यटन व्यवसायीहरूले सन् २०२० मा चिनियाँ पर्यटक आगमनमा ठूलो वृद्धि हुने अपेक्षा राखेका थिए । पछिल्लो समय चिनियाँ पर्यटकको मुख्य सिजनमा नै भाइरसका कारण पर्यटन क्षेत्रमा ठूलो समस्या भएकाले चिनियाँ पर्यटकको आगमन घटेको पर्यटन व्यवसायीहरू बताउँछन् ।
विशेषगरी, गत असोजमा चीनका राष्ट्रपतिको नेपाल भ्रमण र नेपाल भ्रमण वर्ष–२०२० को उद्घघाटनको अवसरमा नेपालका लागि चिनियाँ राजदूतले नेपाल भ्रमणका लागि गरेको आह्वानले चिनियाँ पर्यटक नेपालमा उल्लेख्य मात्रामा बढ्ने आँकलन गरिएको थियो ।
हाल नेपालमा आइरहेका भन्दा दोब्बर अर्थात् २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यसहित सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । सोहीअनुसार केही कार्यक्रम पनि सञ्चालनमा छन् । तर, गतवर्षको पर्यटक आगमन हेर्दा यो वर्ष दोब्बर पर्यटक भित्र्याउन नेपाललाई निकै चुनौती रहेको विज्ञहरूले औंल्याएका छन् ।
प्रतिकृया दिनुहोस्