वसन्त ऋतु सिजनका सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय
फागुन ३०, काठमाडौं ।
सरकारले सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय गरेको छ । पर्वतारोहणका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । तर कोरोना भाईरस हालसम्म विश्वका १२५ देशमा फैलिसकेको छ । सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सतर्कता अपनाउदै वसन्त ऋतु सिजनअन्तर्गत हुने सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय गरेको हो ।
सरकारले विभिन्न हिमालहरूको आरोहणका लागि यो सिजनमा पनि अनुमति दिएको थियो । तर बिहीबार बसेको उच्चस्तरीय समन्वय समिति बैठकले वसन्त सिजनका सबै हिमाल आरोहण लागि यस अघि दिएको अनुमति रद्द गर्ने र नयाँ अनुमति नदिने निर्णय गरेकोे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
कोरोनाविरुद्ध लड्न विभिन्न १९ निर्णय गरेको समन्वय समितिको १७ औं बुँदामा नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएको वा जारी गरिने अनुमति पत्र हाललाई स्थगित गर्ने कुरा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस्