March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

पाथीभरामा तीर्थयात्रीको आगमन बढ्यो

पाथीभरामा तीर्थयात्रीको आगमन बढ्यो

यहाँस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको उपस्थिति बढ्न थालेको छ । मौसम केही न्यानो हुँदै गएको र पाथीभरा क्षेत्रमा हिउँ परेपछि पर्यटकको आगमन बढ्दै गएको हो ।

Advertisement

यहाँ बर्सेनि वसन्त ऋतुको आगमनसँगै भक्तजनको समेत बढ्छ । यो वर्ष हिउँ कम परे पनि मन्दिरको दर्शनका लागि दैनिक सात सय बढी तीर्थयात्री ओहोरदोहोर गरिरहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

Advertisement

शनिबार र मङ्गलबारका दिनमा भने दुई हजार बढी भक्तजन पुग्न थालेको समितिको भनाइ छ । गत मङ्गलबार दुई हजार दुई सय ८३ जना भक्तजन पाथीभरा दर्शनका लागि आएको समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । यहाँ आउने सङ्ख्या दैनिक बढिरहेको उहाँको भनाइ छ । बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादशैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ ।

बडादशैँपछि चैतेदशैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउँछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजनहरु आउने गरेका छन् । पाथीभराको दर्शनसँगै कञ्चनजङ्घासहितका हिमशृङ्खलाको अवलोकन, विभिन्न प्रजातिका गुराँसको सुन्दरतामा रमाउनुका साथै हिउँ खेल्नका लागि यहाँ आउने पर्यटक बढेको पाथीभरा क्षेत्रमा पर्ने फेदीका होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताउनुभयो । यो समयमा काफ्लेपाटी, फेदीलगायतका होटलसमेत खचाखच हुन थालेका छन् ।

तीर्थयात्रीको आगमन बढेसँगै पाथीभरा मन्दिर जाने पदमार्गमा र मन्दिरकै परिसरमा हेल्थ डेक्स स्थापना गर्ने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको अगुवाइमा शुक्रबार बसेको सरोकारवालासहितको बैठकले हेल्थ डेक्स स्थापन गर्ने योजना बनाएको हो ।

पाथीभरा क्षेत्रका होटलमा तीर्थयात्रीलाई खाना, खाजा र बस्नका लागि सहजरूपले सुविधा प्रदान गर्न होटल व्यवसायीसँग छलफलसमेत भएको छ । ताजा र स्वच्छ खाना खुवाउने, चलनचल्तीको भन्दा बढी मूल्य लिन नपाउने निर्णय भएको छ ।

यस्तै सहज यातायातका लागि निजी तथा भाडाका सवारीसाधनलाई काफ्लेपाटीसम्म सहजरूपले आवतजावत गर्न दिने, सवारी चालकलाई अनिवार्य ट्राफिक नियमको पालना गर्न लगाउनेसमेत निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काफ्लेपाटीमा तीर्थयात्रीको चाप बढेको समयमा बाहिरबाट खाली गाडी झिकाउँदा प्रतिव्यक्ति रु चार सय ५० लाग्ने र चलनचल्तीको रु चार सयसम्म दिन सकिने गरी यातायात व्यवसायीसँग समझदारी भएको छ ।

यात्रुलाई पर्न सक्ने विविध कठिनाइ र समस्या सम्बोधनका लागि फुङलिङस्थित काउण्टर, सुकेटार र मन्दिर परिसरमा गरी तीन ठाउँमा सहायताकक्ष राखिने भएको छ । प्रायःजसो तीर्थयात्री बढी आउने समयमा यातायातको असुविधा हुने गरेकोलगायतका गुनासा आउने गरेका छन् ।

तीर्थयात्रीको गुनासो, उनीहरूका सल्लाह सुझाव, सरोकारवालाले देखेका समस्यालाई मध्यनजर गरेर उद्योग वाणिज्य सङ्घ, रेडक्रस, होटल व्यवसायी, यातायात व्यवसायी, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालासहितको बैठक बसेर छलफल भएको प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताउनुभयो ।

यस्तै ट्राफिक व्यवस्थापन र थप सुरक्षाका लागि आवश्यक तयारी भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ ।

मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की छ भने त्यो भन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । वर्षात्को समयमा कच्ची बाटोमा सामान्यतया समस्या हुने भए पनि हिउँदका समयमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । पाथीभरामा हेलिकोप्टरमार्फत मन्दिरमै पुगिन्छ । पछिल्लो समय उच्चपदस्थ व्यक्तिलगायत केहीले हेलिकोप्टर चार्टर्ड गरेर मन्दिरको दर्शनमा आउने गरेका छन् ।