सोमबारदेखि पशुपतिमा विशेष पूजा बन्द
चैत ०९, काठमाडौं ।
कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने भएको छ ।
सोमाबार देखि नै विशेष पूजा बन्द गर्ने उद्धेश्य अनुसार कोषले शुक्रबारदेखि नै पूजाको रसिद काट्न बन्द गरेको हो । बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि सोमबारदेखि भक्तजनले मनोकाङ्क्षा पूरा गर्ने उद्देश्यले गर्ने विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले भक्तजनसँग पूजाका लागि तोकिएको शुल्क लिएर विशेष रुद्राभिषेक गर्ने व्यस्था गरेको थियो । विशेष पूजाका लागि धेरै भक्तजनको रुचि पनि बढ्दै गएको थियो । कोषका लागि आम्दानीको स्रोत पनि बनेको विशेष पूजा कोरोना भाइरसको सतर्कता लागि २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने नियमका कारण स्थगित गरिएको हो ।
पशुपति मूल मन्दिरभित्र दर्शनका लागि छिर्ने भक्तजनलाई पश्चिम ढोका अघि साबुन, पानी, स्यानिटाइजर लगायत सुरक्षाका उपाय पनि अललम्बन गरिएको छ । यसैगरी पशुपति क्षेत्रमा हुने ठूला यज्ञ पनि बन्द गरिएको छ । चैत ११ गतेदेखि हुन लागेको महारुद्रयाग पनि अहिलेलाई स्थगित गरिएको छ । हाल पशुपतिमा दर्शनका लागि आउने भक्तजनका लागि तीन मिटर परैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पशुपति आउने सबै भक्तजनलाई अनिवार्य रुपमा मास्क लगाएर आउन पनि कोषले आह्वान गरेको छ ।
प्रतिकृया दिनुहोस्