सामाजिक सञ्जालमा भेटिएकी केटीसँग बिहे गर्न दुबईबाट भारत आएका बेहुलाको भयो यस्तो हालत
इन्स्टाग्राममा भेट भएकी युवतीसँग प्रेममा परेर बिहे गर्न पुगेका बेहुला र जन्ती बिचल्ली परेका छन् । भर्चुअल प्रेममा परी भारतका २४ वर्षीय दीपककुमार १५० जनाको जन्तीसहित बेहुलीले बोलाएको ठाउँ पुगेका थिए ।
तर, युवतीले भनेको ठाउँमा पुगेर सम्पर्क गर्दा फोन अफ गरी फरार भएपछि उनीहरू अलपत्र परेका हुन् । पीडित बेहुला दीपक वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा थिए ।
त्यस ताका उनले इन्स्टाग्राममा मनप्रित कौर नामकी युवतीको अकाउन्ट फेला पारे र उनीसँग महिनौँ कुराकानी गरे । ति युवतीले आफू वकिल तथा अधिवक्ता भएको बताएकी थिइन् । कुराकानी गर्दै जाँदा उनीहरूको सम्बन्ध प्रेममा बदलियो ।
झन्डै तीन वर्षसम्म उनीहरूले इन्स्टाग्राममै च्याट गरे । फोटो आदान प्रदान गरे । यति बेलासम्म उनीहरूले भेटघाट भने गरेका थिएनन् ।
अन्तिममा उनीहरूले आफ्नो प्रेम सम्बन्ध बिहेमा परिणत गर्ने योजना बनाए । र, आआफ्ना बुबाआमालाई फोनमा कुरा गर्न लगाए । सबै कुरा मिलेपछि ६ डिसेम्बरमा बिहे गर्ने निश्चित भयो ।
सबै कुरा मिलिसकेपछि दीपक दुबईबाट भारत आए । उनले परिवारका केही सीमित व्यक्तिलाई लिएर जन्ती जाने तयारी गरे । तर, युवतीको परिवारले जन्तीमा गाउँभरका मान्छे ल्याउनुपर्ने माग राखे ।
त्यसपछि दीपक १५० जना जन्ती लिएर युवतीले भनेको पन्जाबकै मोगा भन्ने सहरको ‘रोज गार्डेन प्यालेस’ नामक पार्टी प्यालेसमा पुगे ।
साँझ पाँच बजेसम्म पनि बेहुलीको तर्फबाट कोही नआएपछि पीडित बेहुला दीपकले युवतीलाई फोन गरे । तर, उनको फोन अफ थियो । सहरमा अलपत्र परेपछि दीपक र उनको परिवार नजिकैको प्रहरी चौकीमा गइ उजुरी दियो ।
दीपकले आफूलाई बिहेको सबै बन्दोबस्त मिलाउन महिनौँ लागेको बताए । पाहुनाका लागि ट्याक्सी, त्यसमा सजाउने फूल, भिडिओ ग्राफरमा लाखौँ खर्च गरेको उनको भनाइ छ ।
यतिसम्म कि युवतीले बिहेकै लागि भनेर दीपकसँग ५० हजार भारु मागेकी थिइन् । युवती पनि फोटोमा देखिएकी नै हुन् कि होइनन् भन्नेमा समेत दीपकलाई शङ्का लागेको छ । त्यस बाहेक उनको परिवार भनेकाहरू पनि नक्कली हुन भन्नेमा पनि उनको आशङ्का छ ।
यो सबै ठगी गर्नैकै लागि रचिएको षड्यन्त्र थियो वा युवती केही समस्याले गर्दा अलपत्र परेकी हुन् भन्ने खुलिसकेको छैन ।
प्रतिकृया दिनुहोस्