भारतीय अर्थतन्त्र झन कमजोर हुदै
सन् २०१९ को तेस्रो त्रैमासमा भारतको अर्थतन्त्र सन् २०१३ यताकै सुस्त बन्न पुगेको छ । यस वर्षको जुलाईदेखि सेप्टेम्बरसम्मको ३ महीनामा भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४ दशमलव ५ प्रतिशतले बढेको हो । यो आर्थिक वृद्धिदर भारतको लागि सन् २०१३ को पहिलो त्रैमासयताकै कम हो । सरकारको पछिल्लो नयाँ नीतिले मुलुकका साना तथा मझौला व्यवसायहरू समस्यामा परेको छ । विश्लेषकहरूले आगामी दिनमा भारतीय अर्थतन्त्र थप सुस्ताएको हो । वर्षको दोस्रो त्रैमासमा भारतको आर्थिक वृद्धिदर ५ प्रतिशत थियो । यसअघि भारतको प्रमुख आर्थिक सूचकमा देखिएको कमीले पनि भारतको अर्थतन्त्र सुस्ताउने संकेत गरेको थियो । गत सेप्टेम्बरमा भारतको औद्योगिक उत्पादनमा ८ वर्षकै ठूलो कमी देखिएको थियो । अस्ट्रेलिया–न्युजिल्यान्ड बैंक (एएनजे) ले भारतको आर्थिक वृद्धि चालू आर्थिक वर्षमा ५ दशमलव १ प्रतिशतको रहने प्रक्षेपण गरेको छ । यसअघि रोयटर्सका अर्थ्विद्हरूले भारतको आर्थिक वृद्धि यस वर्षको तेस्रो त्रैमासमा ४ दशमलव ७ प्रतिशतको रहने अनुमान गरेका थिए । तर, सरकारी तथ्यांकले भारतीय अर्थतन्त्र सो अवधिमा अझै सुस्त बनेको देखाएको हो । गत वर्षको सोही अवधिमा भारतको आर्थिक वृद्धि ७ प्रतिशत थियो । विभिन्न किसिमको वित्तीय समस्याको सामना गरिरहेको भारतको लागि यो अर्को नकारात्मक समाचार हो । अर्थविद्हरूले भारतको अर्थतन्त्रमा यस वर्षको अन्तिम महीनामा पनि कमी आउने अनुमान गरेका छन् । उनीहरूका अनुसार सन् २०२० देखि भने भारतको अर्थतन्त्रमा सुधार आउनेछ । त्यसपछि भारतको खपत बढ्ने र यसको सकारात्मक नतीजा आर्थिक क्षेत्रमा देखिने उनीहरूको भनाइ छ । गत सेप्टेम्बर महीनामा भारतले आर्थिक क्षेत्रको सुधारको लागि २० अर्ब डलरबराबरको स्टिमुलस ल्याएको थियो । यो योजना कर्पोरेट कर घटाउने विषयमा केन्द्रित थियो । आर्थिक क्षेत्रमा सुधारको लागि भारतीय केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले यस वर्ष ब्याजदर १ दशमलव ३५ प्रतिशत अंकले घटाइसकेको छ । साथै, उसले आगामी दिनमा ब्याजदर कटौती जारी रहनसक्ने संकेत पनि दिएको छ । भारतको कर्पोरेट क्षेत्रको आम्दानीमा र नाफामा देखिएको कमीसँगै लगानी क्षेत्र प्रभावित बन्न पुगेको छ । साथै रोजगारीको क्षेत्रमा पनि सुधार आउन सकेको छैन । एजेन्सीको सहयोगमा
प्रतिकृया दिनुहोस्