आगोको भुङ्ग्रोमा अस्ट्रेलियाः जनावर मात्रै पचास करोड प्रभाबित
पुस २३
पृथ्वीको दक्षिणी गोलाद्र्धमा पर्ने अस्ट्रेलियाका जंगलहरूमा आगलागी भइरहेको छ । करिब महिना दिनदेखि आगोको मार खेपिरहेको अस्ट्रेलियाले मानविय, भौतिक संरचना, पर्यावरणका साथै अत्यधिक मात्रामा जीवजन्तुको क्षति व्यहोरिरहेको छ । अस्ट्रेलियामा हरेक वर्ष आगलागीको समस्या भोग्नुपरे पनि यति ठूलो मात्रामा क्षति भएको इतिहासमै पहिलोपटक हो ।
आगोका कारण देशैभरी करीब २४ जनाको ज्यान गइसकेको छ भने २० हजारभन्दा बढी घरहरू जलेर नष्ट भएका छन् । करोडौंको संख्यामा जीवजन्तु जलेर खरानी भएका छन् ।
धेरैजसो राज्यहरू आगोको घेराभित्र परेका छन् । केही राज्यहरूले भने आगलागीमा बासस्थान र घर नै गुमाएका छन् । सबैभन्दा गम्भीर भौतिक क्षति बाक्लो आवादी भएको राज्य न्यू साउथ वेल्सले व्यहोर्नुपरेको छ । जहाँ करीब १६ सयभन्दा बढी घरहरू खरानी भएका छन् भने ६ सय ५० भन्दा बढी घरहरू जलेर काम नलाग्ने अवस्थामा पुगेका छन् । अस्ट्रेलियाका ६ वटा राज्यमा करीब ७३ लाख हेक्टर जमिन आगोले जलिरहेको छ । यी सबैभन्दा बढी जलेको न्यू साउथ वेल्स राज्यमा नै हो, जहाँ मात्रै ४९ लाख हेक्टरभन्दा बढी जमिनमा आगलागी भएको छ । अग्नि नियन्त्रक सहित २४ जनाको ज्यान गएको छ ।
अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमका अनुसार यसपटक अस्ट्रेलियामा भइरहेको आगलागीको कारण गत डिसेम्बरमा भिक्टोरियाको पूर्वी गिप्पसल्यान्ड क्षेत्रमा परेको चट्याङलाई मानिएको छ । स्टेट एजेन्सी भिक्टोरिया इमर्जेन्सीका अनुसार उक्त चट्याङले लागेको आगो ५ घन्टामा २० किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको थियो ।
अस्ट्रेलियामा सुक्खायाम यसै पनि खतरनाक मानिन्छ । सन् २००९ मा भिक्टोरियामा भएको आगलागीलाई अस्ट्रेलियाको इतिहासकै सबैभन्दा ठूलो आगलागी मानिन्छ । जहाँ १ सय ७३ जनाको ज्यान गएको थियो । उक्त दिनलाई अस्ट्रेलियाको इतिहासमा ब्ल्याक स्याटर्डेका रूपमा इङ्गित गरिएको छ ।
न्यू साउथ वेल्स राज्यमा मात्रै करीब पचास करोड जनावरहरू आगलागीको प्रत्यक्ष मारमा परेका छन् भने लाखौं जनावरहरू मरेका छन् । अस्ट्रेलियाको वन तथा वातावरण मन्त्रालयले मृत जनावरको एकिन तथ्याङ्क पत्ता लगाउनका लागि सर्वेक्षणको काम शुरु गरिएको बताएको छ । (एजेन्सीको सहयोगमा)
प्रतिकृया दिनुहोस्