भारतले बजेट भाषणमै नेपाललाई दिने अनुदान ३३ प्रतिशतले घटायो
माघ १९, काठमाडौं ।
भारत सरकारले सन् २०२०÷२१ का लागि बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले तीन खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर अर्थात् २६९ खर्ब ८५ अर्ब भारतीय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी छिन् ।
बजेट सार्वजनिक गर्ने क्रममा भारतले चालू आर्थिक वर्षका लागि नेपाललाई दिने अनुदानमा सहयोग गत वर्षका तुलनामा ३३ प्रतिशतले कटौती गरेको छ । संसदमा पेश गरिएको बजेटमा नेपाललाई दिइने अनुदान घटाइ ८ अर्ब भारुमा झारिएको छ ।
यसअघि आफैले ल्याएको बजेटमा नेपाललाई दिइने सहायता बढाएकी सीतामरणले अनुदानमा करिब ४ अर्ब भारूले कटौती गरेकी छिन् ।
गत वर्ष २०१९÷२० को मध्यावधि बजेटमा नेपालका लागि १२ अर्ब भारुका सहयोग स्वीकृत गरिएको थियो । त्यसअघि गत वर्षको पहिलो पूर्ण बजेटमा १० अर्ब ५० करोड भारु सहयोग दिने प्रस्तावित थियो ।
नेपाललाई दिइने सहयोग घटाइए पनि भुटानलाई दिइने सहयोगमा भने भारतले वृद्धि गरेको छ । भुटानलाई २८ अर्ब ८४ करोड ६५ लाख भारु सहयोग प्रदान गरिने बजेटमा प्रस्ताव गरिएको छ । यो गत वर्षको भन्दा करिब ८ प्रतिशत बढी हो ।
१० प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको बजेटमा आयकरमा नयाँ व्यवस्था गरिएको छ ।
उच्च वर्गको लागि आयकर बढाइएको छ भने मध्यमलाई न्यून गरिएको छ । वार्षिक पाँच लाखसम्म आम्दानी गर्ने व्यक्तिहरुले आयकर तिर्नु नपर्ने भएको छ ।
यस्तै साढे सात लाखसम्म आम्दानी गर्नेलाई १० प्रतिशत, १० लाखदेखि साढे १२ लाखसम्म आम्दानी हुनेलाई २० प्रतिशत र साढे १२ लाखदेखि १५ लाखसम्म वार्षिक आम्दानी हुनेले २५ प्रतिशत आयकर तिुर्नपर्ने व्यवस्था गरिएको छ ।
प्रतिकृया दिनुहोस्