कोरोना त्रासः(एनएचएस)ले निकाल्यो यो भाइरसबाट बच्ने उपाय
२० फागुन, २०७६ ।
चीनबाट फैलिएको कोरोनाभाइरसले विश्वलाई नै त्रस्त बनाएको छ । यसबाट अहिलेसम्म ७० भन्दा बढी देश प्रभावित बनिसकेका छन् ।
यो संख्या स्थिर वा घट्दो क्रममा नभई विश्वका विभिन्न देशमा फैलँदो मात्रामा रहेकाले संख्या बढिरहेको छ ।
कोरोना भाइरसबाट चीन सबैभन्दा बढी प्रभावित बनेको छ । त्यसपछि दक्षिण कोरियामा ४ हजार २ सय १२, इटालीमा १ हजार ७ सय संक्रमित छन् । जहाँ मृतकको संख्या पनि बढिरहेको छ । मृत्यु हुनेमा भने चीनपछि इरान दोस्रो नम्बरमा छ । जहाँ ५४ जनाको मृत्यु भइसकेको आधिकारिक रूपमा पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम राष्ट्रका रूपमा सूचीकृत गरेको छ । मंगलबार बिहानसम्म यो भाइरसबाट ३१ सय बढीको मृत्यु भइसकेको छ भने ९२ हजार बढी संक्रमित भइसकेका छन् ।
कोरोना भाइरसको संक्रमण जुन गतिमा फैलिएको छ, त्यसले आकस्मिक रूपमा आइपर्ने महामारीसँग जुध्न विश्व तयारी अवस्थामा छैन भन्ने पुष्टि भएको छ ।
जापान र दक्षिण कोरियामा थप संक्रमण रोक्नका लागि स्कुल बन्द गरिएको छ, सार्वजनिक सभारसमारोह गर्न प्रतिबन्ध लगाइएको छ । नेपालमा कोरोना भाइरस संक्रमणको त्रासका कारण नेपाल भ्रमण वर्ष २०२० नै स्थगित गरिएको छ ।
खासमा कोरोना भाइरसको औषधि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । कोरोना प्रतिरोधी खोप बनाउन कोशिस भइरहेपनि सफलता हात परेको छैन ।
विश्व स्वास्थ्य संगठन, पब्लिक हेल्थ इंग्ल्यान्ड तथा नेसनल हेल्थ सर्भिस (एनएचएस) ले यो भाइरसबाट बच्न सकिने विभिन्न उपाय निकालेको छ ।
यसबाट बच्न आफ्नो हात राम्ररी धुनु पर्दछ । खोक्दा वा हाछ्यु गर्दा आफ्नो मुख रुमाल वा टिस्यु पेपरले ढाक्नुपर्छ । कोरोना भाइरस जस्तो भाइरस शरीरभन्दा बाहिर धेरै समय जिउँदो रहन सक्दैन ।
यदि आफु बाहिर जानुछ भने सबैभन्दा राम्रो चाहिँ सेनिटाइजर आफ्नो झोलामा बोकिराख्ने र आवश्यक पर्दा त्यसले हात पुछ्ने गर्नुपर्छ ।
कोरोना भाइरसले मधुमेह, मुटुको बिमारीलगायतका दिर्घ रोगी, बृद्द तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई गम्भीर असर पार्नसक्छ ।
यद्यपि हामीले यो बुझ्नु जरुरी छ की , मानव इतिहासमा कोरोना भाइरस पहिलो महामारी होइन यो भन्दा पहिले पनि यस्ता महामारी निम्त्याउने दर्जनौँ संक्रामक रोगहरू फैलिएका छन्। जस्तैः स्वाइन फ्लु, इबोला, सार्स, एसियन फ्लु, रसियन फ्लु आदी ।
तर यसको मतलब कोरोना बाट बच्न केही नगर्ने भने पटक्कै होइन बरु सार्वजनिक बस, ट्याम्पो या ट्याक्सीमा यात्रा नगर्ने, गर्नै परे मास्क तथा पन्जाको प्रयोग गर्ने घरमा पाहुनाहरु नबोलाउने, भान्छाकोठा र ट्वाइलेटको लगातार सफा गरिराख्नुपर्छ ।
आफु पनि सचेत बनौ र अरुलाई पनी सचेत बनाऔ ।
प्रतिकृया दिनुहोस्