चीन प्रवेश गर्नैलाई १४ दिन क्वारेन्टाइनमा राख्न सुरु
फागुन २१, काठमाडौं ।
चीन सरकारले कोरोना भाइरसबाट प्रभावित देशबाट आउने मानिसलाई १४ दिन क्वारेन्टाइनमा राख्न थालेको छ । दक्षिण कोरिया, जापान, इरान र इटलीबाट चीन पुग्ने सबै मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखेर उपचार गर्न थालेको हो ।
चीनमा संक्रमितको संख्या थपिने तथा ज्यान गुमाउनेको संख्या घटिरहेको समय सरकारले यस्तो सुरक्षा अपनाएको हो । यतिखेर चीनमा कोरोना फैलनेक्रम घट्दो छ भने, चीन बाहिर संक्रमण फैलने क्रम तीव्र बनेको छ । चीन बाहिर मात्रै १२ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।
दक्षिण कोरिया, इटाली, इरान, जापान, अमेरिका, स्विजरल्याण्ड लगायतका देशमा कोरोना फैलने क्रम तीव्र बनेको छ । ८० देशमा फैलिसकेको कोरोनाबाट अहिलेसम्म ३१ सय ६० भन्दा धेरैको ज्यान गैसकेको छ भने झण्डै ९३ हजारमा संक्रमण भएको छ । चीनमा मात्र गएको २४ घण्टामा १२५ जना नयाँ संक्रमित भेटिएका छन् भने ३१ जनाको ज्यान गएको छ । ४८ हजार भन्दा धेरै मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तो अवस्थामा चीन सरकारले सतर्कता अपनाउँन विदेशबाट आउँनेलाई समेत कडा परीक्षण गरेको हो । चीन सरकारले आफू र आफ्नो परिवारको बारेमा सचेत रहन सबैलाई आग्रह गर्दै यस्तो अवस्थामा अनिवार्य बाहेकको समयमा यात्रा नगर्न पनि आग्रह गरेको विविसिले उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस्