५० प्रतिशत रेमिटयान्स भित्रिने ६ मुलुकमा नेपाली कामदार लाई प्रतिबन्ध
२८ फागुन,काठमाण्डौ ।
विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९)का कारण नेपालमा करिब ५० प्रतिशत रेमिट्यान्स भित्रिने प्रमुख ६ मुलुकमा वैदेशिक रोजगारी प्रतिबन्ध लागेको छ । कोरोना भाइरसको कारण देखाउँदै हालै कतार, कुवेत, बहराइन र साउदी अरेबियाले नेपाली कामदारलाई भित्र्याउन प्रतिबन्ध लगाएका छन् । दक्षिण कोरिया र जापान नजान नेपाल सरकारले नै आग्रह गर्दै आएको छ, जहाँ कामदार पठाउन अघोषित प्रतिबन्धजस्तै छ ।
कतारले आइतबारदेखि नेपाली कामदारलाई प्रवेशमा पूर्ण रूपमा रोक लगाएको हो । कतारले नेपाललगायत अन्य १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कुवेतले गत सातादेखि नै नेपालीलाई नयाँ भिसा दिन बन्द गरेको छ । त्यस्तै, साउदी अरेबिया र बहराइनले नेपाली कामदारले प्रयोग गर्ने हवार्ईमार्ग बन्द गरेपछि कामदारहरू विभिन्न मुलुकमा अलपत्र परेका छन् । साउदी अरब र बहराइनले कोरोनाको प्रभाव परेको संयुक्त अरब इमिरेट्सको दुबई हुँदै आउने सबै एयरलाइन्सलाई प्रवेशमा रोक लगाएका छन् । चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस इटाली, इरान, कोरिया, जापान हुँदै विश्वका १ सय १५ मुलुकमा फैलिइसकेको छ भनेर मुना कुँवरले आजको नयाँ पत्रिका दैनिकमा लेखेकी छिन् ।
प्रतिकृया दिनुहोस्