विश्व बैंकले कोरोना नियन्त्रणको लागि नेपाललाई ३ अर्ब ४३ करोड रुपैयाँ अनुदान दिने
फागुन २८, काठमाडौं ।
विश्व बैंकले नोभेल कोरोना भाइरसको प्रभाव न्यूनीकरण गर्न नेपाललाई २९ मिलियन अमेरिकी डलर (३ अर्ब ४३ करोड रुपैयाँ) अनुदान दिने भएको छ । यसअघि विश्वका कोरोना प्रभावित मुलुकलाई आपत्कालीन सहयोग घोषणा गरेको १२ अर्ब अमेरिकी डलरमध्ये विश्व बैंकले नेपाललाई यो रकम उपलब्ध गराउने भएको हो ।
सहयोग कोरोना भाइरसको सचेतना, रोकथाम पूर्वतयारीका लागि उपयोग गरिनेछ । मंगलबार कोरोनाबाट प्रभावित हुन सक्ने सम्भावित क्षेत्र र आवश्यक पहिल्याउने सम्बन्धमा अर्थ मन्त्रालयमा बैठक बसेको थियो ।
बैठमा विश्व बैंकका नेपालस्थित देशीय प्रबन्धक फारिस हदाद जेर्भाेस, अर्थ सचिव शिशिरकुमार ढुंगाना र स्वास्थ्य मन्त्रालयका अधिकारीसँग छलफल भएको थियो । सोही छलफलको आधारमा विश्व बैंकले अनुदान दिएको हो । नोभेल कोरोना भाइरस अहिलेसम्म सयभन्दा बढी देशमा फैलिसकेको छ । यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव सिर्जना गर्न सुरु गरिसकेको परिप्रेक्ष्यमा विश्व बैंकले प्रारम्भिकरूपमा घोषणा गरेको १२ अर्ब डलर आपत्कालीन सहयोग स्वास्थ्य समस्या र आर्थिक प्रभावसँग जुध्न खर्च गरिनेछ । यो सहयोग महामारीको असर न्यूनीकरण गर्न डिजाइन गरिएको हो ।
फास्ट ट्र्याक प्याकेज अन्तर्गत विश्व बैंकले स्वास्थ्य प्रणाली सुधार, स्वास्थ्य सेवामा राम्रो पहुँच, महामारीबाट सुरक्षा, रोगप्रकोपको निगरानी वृद्धि, जनस्वास्थ्य सुधार र निजी क्षेत्रसँगको सहकार्यमा आर्थिक असर न्यूनीकरणका क्षेत्रमा काम गरिने उल्लेख छ ।
प्रतिकृया दिनुहोस्