January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

मलेसियाको ‘लक डाउन ’ आजबाट सुरु, मलेसिया उडान समेत बन्द

मलेसियाको ‘लक डाउन ’ आजबाट सुरु, मलेसिया उडान समेत बन्द

५ चैत, काठमाण्डौ ।
मलेसिया सरकारले आज बुधबार देखि १४ दिन सम्मका लागि ‘लक डाउन ’ घोषणा गरेको छ । उसले अन्य देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । मलेसिया सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि चैत ५ देखि चैत १८ गतेसम्म नेपाली सहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो ।
मलेसियाका प्रधानमन्त्री मुहिदिन यासिनल यो अवधिभर आफ्नो देशका नागरिकलाई देश छाडेर अन्यत्र जान पनि प्रतिबन्ध लगाएका छन् ।
नेपाली श्रमिकका लागि मलेसिया, कतार र साउदी अरब पछिको प्रमुख गन्तव्य मुलुक मानिन्छ । मलेसियामा पांच लाखभन्दा बढी नेपाली रहेको अनुमान छ । घर बिदामा नेपाल आएका पनि यो बीचमा फर्कन नपाउने भएका छन् । मलेसियाबाट नेपाल फर्कन चाहनेका लागि भने कुनै अवरोध नरहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
त्यस्तै, देशबाहिर रहेका मलेसियाका नागरिक स्वदेश फर्किन भने रोक लगाईएको छैन । तर त्यसरी फर्किएका मलेसियाका नागरिकले स्वास्थ्य परीक्षण गर्नुपर्नेछ । स्वास्थ्य परीक्षणबाट कोरोना नभेटिए पनि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण मलेसियाले सबै शैक्षिक संस्था बन्द गराएको छ भने खेलकुद, धार्मिक कार्यक्रम, लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाएको छ भने यातायात, स्वास्थ्य संस्था ,वित्तीय क्षेत्र, खाना , औषधि, ग्यासलगायत अत्यावश्यकीय सेवा प्रवाह भने पूर्ववत् सञ्चालन हुने जनाएको छ ।
मलेसियामा अहिलेसम्म पाँच सय ६६ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमध्ये ४२ जना उपचारपछि निको भएका छन् ।
मलेसियन उडान बन्द
नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुरमा गर्दै आएको नियमित उडान हाललाई स्थगित गरको छ । मंगलबार निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि मलेसिया सरकारले चैत ५ देखि चैत १८ सम्म नेपाल सहित अन्य विदेशि देशका नागरिकलाई प्रवेशमा रोक लगाएपछि अर्काे निर्णय जारी नभएसम्म नियमित उडान हाललाई स्थगित गरेको उल्लेख गरको हो ।
निगमले चैत ४ गते अर्थात मार्च १७ तारिक र सो भन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम सबै उपलब्ध गराउने भएको छ । त्यस्तै जेठ १७ गतेसम्म यात्रुहरुले उडानको मिति परिवर्तन पाउने र त्यसको शुल्क नलाग्ने पनि निगमले जनाएको छ ।

Advertisement