वैशाख १ देखि सिमेन्ट र डन्डीमा एमआरपी अनिवार्य, अनुगमनलाई तीव्रता दिईने
सरकारले आगामी वैशाख १ गतेदेखि सिमेन्ट र फलामे छड (डन्डी) मा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य गर्ने निर्णय गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट र डन्डी उद्योगीलाई फ्याक्ट्री गेट प्राइस र बिक्रेतालाई बिक्री मूल्य लेबलमा उल्लेख गर्न निर्देशन दिएको हो।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उद्योगीहरूसँगको छलफलपछि वैशाख १ देखि एमआरपी लागू गर्ने सहमति भएको बताए। “उद्योगीहरूले फ्याक्ट्री गेट प्राइस राख्ने र बिक्रेताले त्यसमा बिक्री मूल्य थपेर बिक्री गर्ने सहमति भएको छ,” उनले भने।
यसअघि चैत १४ मा विभागले सबै वस्तुमा एमआरपी राख्न सूचना जारी गरेको थियो। तर, सिमेन्ट र डन्डी उद्योगीहरूले सुरुमा असहमति जनाएका थिए। चैत २० को छलफलमा पनि ठोस निष्कर्ष ननिस्किएपछि विभागले पुनः निर्देशन जारी गरेको थियो। अब भने उद्योगीहरूले वैशाख १ देखि एमआरपी लागू गर्ने प्रतिबद्धता जनाएका छन्।
महानिर्देशक दाहालका अनुसार, एमआरपी नराख्ने उद्योगी वा बिक्रेतामाथि कारबाही गरिनेछ। विभागले बजार अनुगमनलाई समेत तीव्र बनाएको छ। लेबलमा उत्पादकको नाम, ठेगाना, दर्ता नम्बर, उत्पादन र उपभोग्य मिति, करसहितको एमआरपी, गुणस्तर, स्वास्थ्य चेतावनी र ग्यारेन्टीरवारेन्टीजस्ता विवरण अनिवार्य उल्लेख गर्नुपर्नेछ। खुला रूपमा बिक्री हुने फलफूल र तरकारीमा लेबल आवश्यक नभए पनि आयातित प्याकेटजस्ता वस्तुमा भने एमआरपी राख्नुपर्नेछ।
सिमेन्ट उद्योग संघका अध्यक्ष रघुनन्दन मारुले वैशाख १ देखि सिमेन्टमा फ्याक्ट्री गेट प्राइस राख्ने तयारी अन्तिम चरणमा पुगेको बताए। “सबै सिमेन्ट उद्योगले प्राइस राखेर बजारमा पठाउँछन्,” उनले भने। यस्तै, डन्डी उद्योगीहरूले पनि फ्याक्ट्री गेट प्राइस राख्न विभागसँग परामर्श गरिरहेको दाहालले जानकारी दिए।
महानिर्देशक दाहालले एमआरपी लागू गर्दा बजारमा मूल्य पारदर्शिता कायम हुने र चोरी, कालोबजारीजस्ता समस्या नियन्त्रण हुने दाबी गरे। “उपभोक्ताले मूल्यबारे प्रश्न उठाउन पाउँछन्। जथाभावी मूल्य राखिएमा विश्लेषण गरेर कारबाही गर्छौं,” उनले भने।
यद्यपि, उपभोक्ता अधिकारकर्मीहरूले जथाभावी एमआरपी राख्दा उपभोक्ता ठगिन सक्ने चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यो नियमले उपभोक्तालाई थप मर्कामा पार्न सक्ने बताएका छन्। विभागले भने उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर नियम कार्यान्वयन गर्ने जनाएको छ।