कामु गर्भनर ढुंगानाले मानिनन् अर्थमन्त्रीको निर्देशन, भट्टको राजीनामा अस्वीकार

कामु गर्भनर ढुंगानाले मानिनन् अर्थमन्त्रीको निर्देशन, भट्टको राजीनामा अस्वीकार

नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नर डा। नीलम ढुंगाना तिम्सिनाले अर्थमन्त्रीको स्पष्ट निर्देशनपछि पनि गभर्नरका लागि राजनीतिक सहमति भएका कार्यकारी निर्देशक डा। गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न आनाकानी गरिरहेकी छन्।

सत्ता गठबन्धनमा डा. भट्टलाई गभर्नर बनाउने सहमति भएसँगै उनले वैशाख ५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए। उनले नियमानुसार एक महिनाको तलब भत्तासमेत बुझाएका छन्। यद्यपि, राजीनामा दिएको ११ दिन बितिसक्दा पनि कामु गभर्नर ढुंगानाले त्यसलाई स्वीकृत गरेकी छैनन्। यसै कारण अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार उनलाई मन्त्रालयमा बोलाएर राजीनामा स्वीकृत गर्न आग्रह गरेका थिए, तर मंगलबारसम्म पनि कार्यान्वयन भएको छैन।

स्रोतका अनुसार, कामु गभर्नर ढुंगानाले भट्टको राजीनामा स्वीकृत गर्दा प्रतिस्पर्धीलाई सहज हुने भन्दै आलटाल गरिरहेकी छन्। भट्ट मात्र नभई अर्का कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठले फागुनमा दिएको राजीनामा पनि स्वीकृत भएको छैन। श्रेष्ठ हाल राष्ट्रिय योजना आयोगको सदस्य छन्।

ढुंगानाले दुई जना कार्यकारी निर्देशकको राजीनामा आइसकेको र सबै गभर्नर बन्न खोज्दा बैंक कसरी चल्छ भनी प्रश्न गर्ने गरेको स्रोतको दाबी छ। उनले कतिपयलाई जुनियरलाई गभर्नर बनाउँदा काम गर्ने प्रेरणा नहुने भन्दै प्रतिप्रश्नसमेत गरेकी छन्।

स्मरण रहोस्, ढुंगाना स्वयं डेपुटी गभर्नर बन्दा आफ्नै वरियताक्रमभन्दा माथिका कार्यकारी निर्देशकलाई उछिनेकी थिइन्। अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र पनि नियुक्त हुँदा कार्यकारी निर्देशकको वरियतामा अन्तिमतिर थिए भने भट्ट र श्रेष्ठ अगाडि थिए। श्रेष्ठ उमेर हदका कारण जेठमा र भट्ट सेवा अवधिका कारण असोजमा अवकाश पाउँदैछन्।

यसैबीच, गभर्नरको उमेर हदसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा भट्टको योग्यता नपुग्ने भन्दै पूरक निवेदन दर्ता भएको छ। यसले गभर्नर नियुक्ति थप जटिल बनाएको छ। उता, गभर्नर सिफारिस समितिका सदस्य डा। विजयनाथ भट्टराईले राजीनामा दिएपछि नियुक्ति प्रक्रिया थप अन्योलमा परेको छ। उनले समितिलाई रबर स्ट्याम्प बनाउन खोजिएको भन्दै राजीनामा दिएका थिए। सरकारले हिजो सोमबार मात्र सिफारिस समितिलाई पूर्णता दिएको छ।