काठमाण्डौ प्रदूषित शहरको सूचीमा
काठमाण्डौ विश्वका सबैभन्दा धेरै वायु प्रदूषण रहेका १० वटा शहरहरुको सूचीमा परेको छ । बिहान हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ५६ पुगेको काठमाण्डौ धेरै प्रदूषण भएको सहरको १० औँ नम्बरमा परेको हो । एक्यूआई एक सय ५० भन्दामाथि पुग्दा त्यहाँको हावा सबैको लागि अस्वस्थ हुन्छ ।
बिहान काठमाण्डौ उपत्यकामा रहेका सबैजसो मापन केन्द्रहरुले एक्यूआई एक सय ५५ भन्दामाथि देखाएका छन् । हिजो हिउँदे वर्षा हुने र वायु प्रदूषण कम हुने आशा गरिएको भए पनि वर्षा नहुँदा प्रदूषण उस्तै छ ।
यसैबीच वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषणको स्रोत पहिचान गरी त्यसको नियन्त्रणमा कडा निगरानी राख्न आवश्यक रहेकामा जोड दिनुभएको छ । एशिया–प्रशान्त क्षेत्रीय वायु प्रदूषणसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा उनले वायु प्रदूषणको चर्को समस्या घटाउन सरकारले प्रयास गरिरहेको बताए ।
यसैबीच काठमाण्डौ महानगरपालिकाले महानगर क्षेत्रभर वायु गुणस्तर निगरानी उपकरण जडान शुरू गरेको छ । मुख्य कार्यालयमा उपकरण जडान अभियानको उद्घाटन गर्दै उपमेयर सुनिता डङ्गोलले उपकरणले वास्तविक तथ्यांक प्रयोग गरी सूचित नीतिहरू बनाउन र स्वस्थ वातावरण सुनिश्चित गर्न महानगरपालिकालाई सहयोग पुग्ने बताए ।
परियोजनाअन्तर्गत, महानगरले १८ वटा ‘क्ल्यारिटी नोड–एस’ वायु गुणस्तर ‘सेन्सर’ स्थापना गर्ने जनाएको छ ।



