ट्रम्पको नयाँ भन्सार नीति कार्यान्वयन
अमेरिकी भन्सार कार्यालयहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको नयाँ भन्सार शुल्क लिन थालेका छन्। शनिबारदेखि धेरैजसो देशबाट आयात हुने वस्तुहरूमा १० प्रतिशत भन्सार शुल्क लागू गरिएको छ। यद्यपि, अमेरिकाका ५७ ठूला व्यापारिक साझेदार राष्ट्रहरूका लागि यो नियम आगामी सातादेखि लागू हुने बताइएको छ।
गत बुधबार ट्रम्पले सार्वजनिक गरेको यो ट्यारिफ सूचीका कारण शुक्रबार अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएको थियो र लगानीकर्ताले एस एण्ड पी ५०० बाट ५ ट्रिलियन डलर गुमाएका थिए। पहिलो चरणमा अष्ट्रेलिया, बेलायत, ब्राजिल, कोलम्बिया, अर्जेन्टिना र साउदी अरेबिया जस्ता देशहरू अमेरिकाको १० प्रतिशत भन्सार शुल्कबाट प्रत्यक्ष प्रभावित हुनेछन्। यी देशहरू गत वर्ष अमेरिकासँग व्यापार घाटामा थिए।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा बुलेटिन अनुसार शनिबार अघि लोड भएका सामानहरूलाई ५१ दिनको ग्रेस अवधि दिइएको छ। यस अनुसार त्यस्ता कार्गोहरू मे २७ अघि अमेरिका आइपुगेमा १० प्रतिशत भन्सार शुल्कबाट बच्न सक्नेछन्।
यसैगरी, ट्रम्पको ११ देखि ५० प्रतिशतसम्मको उच्च रेसिप्रोकल ट्यारिफ भने यही साताको बुधबारदेखि कार्यान्वयनमा आउनेछ। यस अन्तर्गत युरोपियन युनियनले २० प्रतिशत र चिनियाँ सामग्रीले ३४ प्रतिशत थप गरी कुल ५४ प्रतिशतसम्म ट्यारिफ तिर्नुपर्नेछ। समग्रमा ट्रम्पको यो नयाँ भन्सार नीतिबाट चीन सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ।



