रुसी ह्याकरले कब्जा गरेको ‘हेलो सरकार’ वेबसाइट एक महिनापछि सञ्चालनमा

रुसी ह्याकरले कब्जा गरेको ‘हेलो सरकार’ वेबसाइट एक महिनापछि सञ्चालनमा

रुसी ह्याकर समूहको नियन्त्रणमा परेर बन्द भएको ‘हेलो सरकार’ वेबसाइट करिब एक महिनापछि सामान्य अवस्थामा फर्किएको छ । सरकारी सेवासम्बन्धी गुनासो संकलन र सम्बोधनको लागि सञ्चालन गरिएको वेबसाइट २७ फागुनदेखि बन्द थियो ।

‘फेन्सी बियर्स एपीटी २८’ नामक ह्याकर समूहअन्तर्गत रहेको ‘घुद्रा’ समूहले हेलो सरकारको सिस्टम ह्याक गरेको दाबी गर्दै ब्रिच फोरममा संवेदनशील डेटा बिक्रीमा राखेको थियो ।

ह्याकरले पोस्टमार्फत आफूहरूसँग वेबसाइटको फाइल मेनेजर, सुरक्षासम्बन्धी जानकारी, डेटाबेस ब्याकअप, युजरनेम, पासवर्ड, इमेल र मोबाइल नम्बरसहितको जानकारी रहेको दाबी गरेका थिए । साथै, ४९.९८ जीबी क्षमताको सर्भर स्टोरेजमा ८.३२ जीबीमात्रै बाँकी रहेको स्क्रिनशट सार्वजनिक गरिएको थियो ।

ह्याकरले एक लाख प्रयोगकर्ताको डेटा आफूसँग रहेको दाबी गरेपनि सरकारले यस विषयमा आधिकारिक जानकारी दिएको छैन । ह्याकरले ब्रिच फोरममा नेपाल सरकारको डेटाको पहुँच भएको भन्दै त्यसको मूल्य १,००० डलर तोकेको थियो ।