लुम्बिनीमा ११२ देशका पर्यटक, दानपेटिकामा १०० देशका मुद्रा
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वभरका पर्यटकहरूको आकर्षण बन्दै गएको छ। लुम्बिनी विकास कोषका अनुसार सन् २०२४ मा मात्रै ११२ देशका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् भने मायादेवी मन्दिर र अशोक स्तम्भमा राखिएका दानपेटिकामा १०० देशका भिन्न–भिन्न मुद्रा भेटिएका छन्।
दानपेटिकाबाट संकलित ती मुद्रामध्ये कतिपय साट्न नसकिएको र केही मुलुकको मुद्रा संग्रहालयमा राख्ने तयारी गरिएको कोषले जनाएको छ।
कोषका सदस्य–सचिव सानुराज शाक्यका अनुसार अफ्रिका र ल्याटिन अमेरिकी देशहरूका केही मुद्रा अझै साटिन बाँकी छन्। उनी भन्छन्, “लुम्बिनीमा सबै देशका मुद्रा राख्नेगरी संग्रहालयको परिकल्पना गरिए पनि अझै सार्थक कार्यान्वयन हुन सकेको छैन।”
इतिहासका अध्येता युवराज कँडेल र संस्कृतिविद् डा. गीतु गिरीले पनि मुद्रा संग्रहालयले लुम्बिनीको पहिचान अझै व्यापक बनाउन सहयोग पुर्याउने धारणा राखेका छन्। उनीहरूका अनुसार संग्रहालयले पर्यटकमा अपनत्व बढाउनुका साथै अध्ययनको केन्द्र बन्न सक्नेछ।
लुम्बिनीको दानपेटिकाबाट जम्मा हुने मुद्रा कोषको आम्दानीको मुख्य स्रोत हो। यिनै भेटीबाट हरेक वर्ष करिब चार करोड रुपैयाँको आम्दानी हुन्छ जसबाट कर्मचारी तलब, मर्मत र अन्य खर्च सञ्चालित हुन्छ।
अहिलेसम्म साटिन नसकेका ३९ देशका मुद्रा पनि अब राष्ट्र बैंकको समन्वयमा सटही गरिएको छ। जसमध्ये म्यानमारको ११ करोडभन्दा बढी क्याटदेखि पेरु, भियतनाम, इन्डोनेसिया, कम्बोडिया, ओमन, श्रीलंका, भुटानलगायत देशका मुद्रा साटिएको लेखा प्रमुख नवलकिशोर यादवले जानकारी दिए।
लुम्बिनीको महत्वलाई अझै अन्तर्राष्ट्रिय बनाउने अवसरको रूपमा न्यूयोर्क टाइम्सले सन् २०२५ का लागि तयार पारेको ५२ गन्तव्य सूचीमा नवौँ स्थान दिइएको छ। यो समाचारले पर्यटन व्यवसायी र सरकारमा उत्साह थपेको छ।
कोषका सदस्यसचिव शाक्य भन्छन्, “यो यस्तो प्रचार हो, जुन नेपालले पैसा खर्च गरेर पनि गर्न नसक्ने किसिमको हो।”
विगत वर्षभन्दा पर्यटकको संख्यामा वृद्धि भए पनि उनीहरूको बसाइ छोटो हुँदा लुम्बिनीको पूर्ण सम्भावना उपयोग हुन सकेको छैन। होटल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीका अनुसार, “२० प्रतिशत विदेशी पर्यटक पनि तिलौराकोट र रामग्रामजस्ता ऐतिहासिक स्थानसम्म पुग्दैनन्।”
संघीय सरकार र प्रदेश सरकारले लुम्बिनी परिपथ निर्माणको योजना अघि सारेका छन्। यदि यसलाई प्रभावकारी कार्यान्वयन गर्न सकियो भने पर्यटकको बसाइ लम्ब्याउने र त्यसबाट स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान हुने आशा गरिएको छ।



