पछिल्लो एघार महिनामा ९.३३ प्रतिशतले राजस्व वृद्धि
चालू आर्थिक वर्ष ०८१/८२ को ११ महिनामा आन्तरिक राजस्व संकलनमा सकारात्मक सुधार देखिएको छ। आन्तरिक राजस्व विभागका अनुसार जेठ मसान्तसम्म चार खर्ब ९८ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.३३ प्रतिशतले बढी हो।
तर, संस्थागत आयकर संकलनमा भने गिरावट देखिएको छ। सरकारी स्वामित्वका संस्थानहरूको आयकर अघिल्लो वर्षको तुलनामा ४३.८७ प्रतिशतले घटेर पाँच अर्ब ४८ करोडमा सीमित भएको छ। त्यस्तै सार्वजनिक कम्पनीहरूले तिर्ने आयकर पनि २२.१४ प्रतिशतले घटेको छ। यद्यपि, निजी कम्पनीहरूको योगदानमा २८.१० प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ।
व्यक्तिगत आयकरतर्फ सुधार देखिएको छ। सामाजिक सुरक्षा र औपचारिक रोजगारीमा विस्तारको असरस्वरूप व्यक्तिगत आयकर संकलन १६.९२ प्रतिशतले बढेर नौ अर्ब आठ करोड पुगेको छ। त्यस्तै, पुँजीगत लाभकर संकलनमा ६१.११ प्रतिशतको उच्च वृद्धि देखिएको छ, जुन सेयर बजार र जग्गा कारोबारमा सक्रियता बढेको संकेत हो।
लगानी आयकरतर्फ ०.१४ प्रतिशतको सामान्य वृद्धि भए पनि कर्पोरेट पुँजीगत लाभकरमा ३२४.७५ प्रतिशतको तीव्र वृद्धि भएको छ। ब्याज आयकरमा भने घट्दो ब्याजदर र लगानी प्रवृत्तिका कारण १७.۶५ प्रतिशतको गिरावट देखिएको छ।
लिज तथा भाडा आयमा ५.३९ प्रतिशत वृद्धि भएको छ भने लाभांश आयकरमा १५.६२ प्रतिशतले वृद्धि देखिएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) संकलन १३.३२ प्रतिशतले वृद्धि भई एक खर्ब २७ अर्ब १८ करोड पुगेको छ। सञ्चार, बिमा, हवाई सेवा, उत्पादन, पर्यटन तथा परामर्श सेवाबाट उल्लेखनीय भ्याट संकलन भएको छ।
शिक्षा शीर्षकमा स्वदेशी विद्यार्थीबाट उठ्ने शुल्क ५३.५७ प्रतिशतले घटेको छ भने विदेश अध्ययनका लागि लिइने शुल्कमा वृद्धि देखिएको छ। कुल रूपमा शिक्षातर्फको राजस्व १०.८७ प्रतिशतले बढेको छ।
अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरू (जस्तै मेटा, एक्स, नेटफ्लिक्स) बाट डिएसटी अन्तर्गत उठ्ने कर उल्लेखनीय रूपमा ६१९.८३ प्रतिशतले वृद्धि भई ४९ लाख रुपैयाँ पुगेको छ। विलासिता कर, विदेश भ्रमण शुल्क तथा वैदेशिक रोजगार शुल्क पनि बढेका छन्।
अन्तःशुल्क संकलनमा पनि १८.९९ प्रतिशतको वृद्धि भएको छ। विशेषतः मदिरा, बियर, चुरोट–बिँडी लगायतका उत्पादनमूलक वस्तुहरूबाट उल्लेख्य आय प्राप्त भएको छ। मदिराबाट ३१ अर्ब १५ करोड, बियरबाट ३५ अर्ब ३६ करोड र चुरोट–बिँडीबाट २५ अर्ब ५६ करोड संकलन भएको छ।
समग्रमा, चालू आर्थिक वर्षमा आन्तरिक राजस्व संकलनमा देखिएको सुधार निजी क्षेत्रको सक्रियता, व्यक्तिगत करदाताको योगदान तथा उपभोग करको वृद्धिले सम्भव भएको देखिन्छ। यद्यपि, सरकारी संस्थानहरूको कर संकलनमा आएको गिरावट र ब्याज आयमा आएको ह्रास चुनौतीको रूपमा देखिएका छन्।



