ह्वात्तै बढ्यो इन्धनको मूल्य, अब लिटरको कति पर्छ ?
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसनबाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
बढेको मूल्य आजै मध्यरातिदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ७ ले र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ ले बढाइएको छ ।
यसैगरी हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा विक्री मूल्य कायम गरिएको छ । साथै, एल. पी. ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ ।निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । दोस्रो वर्गमा सुर्खेत र दाङलाई राखिएको छ भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दीपायल रहेका छन् ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ ।
त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ । यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ ।
यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो ।



