वैदेशिक सहायता प्रतिबद्धता ७१.५ प्रतिशतले बढ्यो, सरकारलाई ३२ अर्ब ८५ करोड प्राप्त
चैत ५, काठमाडौं ।
चालू आर्थिक वर्षको ७ महिनामा वैदेशिक सहायता प्रतिबद्धता ह्वात्तै बढेको छ । गत वर्षको तुलनामा यो वर्षको साउन देखि माघ सम्म वैदेशिक सहायता प्रतिबद्धता ७८ अर्बले बढेको हो । गत आर्थिक वर्षको माघसम्म १ खर्ब ९ अर्ब प्रतिबद्धता भएको थियो । यो वर्ष १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ प्रतिबद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ । कोरोना महामारीले थलिएको वर्ष भए पनि ७ महिनामा वैदेशिक सहायता प्रतिबद्धता ७१.५ प्रतिशतले वृद्धि बढी भएको हो ।
प्रतिवद्धता मध्ये अनुदान सहायता ९.७ प्रतिशत अर्थात् १८ अर्ब १८ करोड रुपैयाँ प्रतिबद्धता आएको छ । ९०.३ प्रतिशत अर्थात् १ खर्ब ६९ अर्ब २५ करोड रुपैयाँ भने ऋण सहायताको लागि प्रतिबद्धता आएको छ । मन्त्रालयका अनुसार शिक्षा क्षेत्रमा ४ अर्ब ४६ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ४६ अर्ब १४ करोड, पुनर्निर्माणमा ६० करोड, शहरी विकासमा १७ अर्ब ७६ करोड, सडक तथा सुशासनको क्षेत्रमा ५४ अर्ब, खानेपानी तथा सरसफाइको क्षेत्रमा ५ अर्ब ८९ करोड र कृषि क्षेत्रमा १० अर्ब ६५ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ ।
त्यस्तै, कोरोना नियन्त्रण तथा रोकथामको लागि १ अर्ब ३२ करोड, स्वास्थ्यमा ३ खर्ब ४० करोड, वन तथा वातावरणको लागि ३ अर्ब ४० करोड, क्षमता विकासको लागि १७ अर्ब ७६ करोड, बजेटरी सहायताको लागि २३ अर्ब ६८ करोड बराबरको वैदेशिक सहायता प्रतिद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ । कुल सहायता प्रतिबद्धतामध्ये द्विपक्षीय सहायता ३.३ प्रतिशत र बहुपक्षीय साहयता ९६.७ प्रतिशत रहेको छ । वैदेशिक सहायता प्रतिबद्धतामा सडक तथा सुशासन क्षेत्रमा सबैभन्दा बढी २८.८ प्रतिशत, ऊर्जा क्षेत्रमा २४.६ प्रतिशत र बजेटरी सहायताको रुपमा १२.६ प्रतिशत प्राप्त भएको छ ।
सरकारले चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक सहायताबाट ३२ अर्ब ८५ करोड प्राप्त गरेको छ । गत साउनदेखि माघसम्म ७ अर्ब ४६ करोड अनुदान र रु २५ अर्ब ३९ करोड ऋण गरी सो सहायता प्राप्त गरेको हो । चालु आर्थिक वर्षमा सरकारले ३ खर्ब ६० अर्ब रुपैयाँ वैदेशिक सहायता लिने लक्ष्य राखेको छ । अर्थ मन्त्रालयका अनुसार सरकरले कात्तिक, मंसिर र पुस महिना अर्थात् तीन महिनामा मात्रै अनुदान सहायता १० अर्ब ४४ करोड ६३ लाख ४० हजार र ऋण सहायता ९१ अर्ब ५९ करोड ५० लाख १९ हजार गरी कूल १ खर्ब २ अर्ब ४ करोड १३ लाख ६० हजार रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो ।