वैदेशिक सहायता निरन्तर ओरालो, गत पाँच वर्षमा आठ खर्ब ८४ अर्ब प्राप्त

वैदेशिक सहायता निरन्तर ओरालो, गत पाँच वर्षमा आठ खर्ब ८४ अर्ब प्राप्त

पछिल्ला वर्षहरूमा नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायतामा निरन्तर कमी आएको छ । अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा कुल ७४ अर्ब ६३ करोड वैदेशिक सहायता प्राप्त भएको छ ।

२०८१ साउन १ गतेदेखि फागुन मसान्तसम्म प्राप्त वैदेशिक सहायतामा अनुदान नौ अर्ब १६ करोड रुपैयाँ र ऋण ६५ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा संघीय सञ्चित कोषमा एक खर्ब ३७ अर्ब २८ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको थियो । उक्त वर्ष अनुदान २४ अर्ब एक करोड रुपैयाँ र ऋण सहायता एक खर्ब १३ अर्ब २७ करोड रुपैयाँ प्राप्त भएको थियो ।

गत आर्थिक वर्ष प्राप्त कुल वैदेशिक सहायतामध्ये ऋण र अनुदानको अंश क्रमशः ८२.५ प्रतिशत र १७.५ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७/७८ देखि नेपालले नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायताको ओरालो यात्रा सुरू भएको हो ।

अर्थ मन्त्रालयको विवरणअनुसार आर्थिक वर्ष २०७६/७७ मा नेपालले एक खर्ब ५७ अर्ब पाँच करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मो यो रकम दुई खर्ब नौ अर्ब ६३ करोड रुपैयाँ पुगेको थियो ।

त्यसपछिका वर्षहरुमा वैदेशिक सहायता घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा नेपालले एक खर्ब ६० अर्ब नौ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको थियो ।

आर्थिक वर्ष २०७९/८० यो रकम अझ घटेर एक खर्ब ४६ अर्ब ६ करोड रुपैयाँ पुगेको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०८०/८१ मा यो रकम अझ कट्यो । सो वर्ष नेपालले एक खर्ब ३७ अर्ब ४८ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको थियो ।

बितेका साढे पाँचवर्षमा अर्थात् आर्थिक वर्ष २०७६र७७ देखि २०८१/८२ को फागुन मसान्तसम्म नेपालले कुल आठ खर्ब ८४ अर्ब ९४ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा वैदेशिक सहायता प्राप्ति २.४ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा वैदेशिक सहायता प्राप्ति आर्थिक वर्ष २०७६/७७ मा चार प्रतिशत, २०७७/७८ मा ४.८ प्रतिशत, २०७८/७९ मा ३.२ प्रतिशत, २०७९/८० मा २.७ प्रतिशत रहेको थियो ।

“विगतमा वार्षिक बजेटको ठूलो हिस्सा वैदेशिक सहायताले ओगट्ने गरेकोमा आन्तरिक स्रोत परिचालन क्षमतामा वृद्धि हुँदै गएसँगै यस्तो हिस्सा क्रमशः घट्दै गएको छ,” अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण २०८१/८२’ मा भनिएको छ, “आठौं योजना अवधिमा कुल बजेटमा वैदेशिक सहायताको हिस्सा वार्षिक औसत ३९.७ प्रतिशत रहेकोमा पन्धौं योजना अवधिमा २०।१ प्रतिशतमा झरेको छ ।”

त्यसैगरी, वैदेशिक सहायता प्राप्ति र वैदेशिक सहायता उपयोग समेत घट्दै गएको छ । आठौं योजना अवधिमा कुल प्राप्ति (राजस्व, अनुदान र ऋणसहितको) मा वैदेशिक सहायता प्राप्तिको हिस्सा वार्षिक औसत ३३.४ प्रतिशत रहेकोमा पन्ध्रौं योजना अवधिमा यस्तो हिस्सा १२.७ प्रतिशत रहेको छ ।

आठौं योजना अवधिमा वैदेशिक सहायता उपयोग कुल सरकारी खर्चको ३०.७ प्रतिशत रहेकोमा पन्ध्रौं योजनामा १२ प्रतिशत मात्र रहेको छ ।

“आन्तरिक स्रोत परिचालन अभिवृद्धि हुँदै गएसँगै वैदेशिक सहायता प्राप्ति र उपयोगको हिस्सा समेत घट्दै गएको हो । आन्तरिक स्रोत परिचालन क्रमशः बढ्दै गई वैदेशिक सहायतामाथिको उच्च निर्भरता क्रमशः कम हुँदै गएको छ,” आर्थिक सर्वेक्षणमा भनिएको छ ।

दशौं योजनादेखि तेहौं योजनाको अन्त्यसम्म वैदेशिक सहायता परिचालन र उपयोगमा वैदेशिक ऋणको दाँजोमा वैदेशिक अनुदानको हिस्सा बढी रहेकोमा त्यसपछिका योजना अवधिमा भने वैदेशिक ऋण परिचालन उच्च रहेको छ ।

दशौं योजनादेखि तेह्रौं योजना अवधिसम्मको बजेटमा समेत वैदेशिक ऋणभन्दा वैदेशिक अनुदान लक्ष्यको हिस्सा उच्च रहेको थियो ।