वैदेशिक सहायता एक खर्ब ७० अर्ब

चालू आर्थिक वर्षको जेठसम्म सरकारले एक खर्ब ७० अर्ब ५१ करोड रुपैयाँबराबरको वैदेशिक सहायता प्राप्त गरेको छ । यो सरकारी लक्ष्यभन्दा एक खर्ब २७ अर्ब अथार्तः ५७ प्रतिशत कम हो । सरकारले चालू आर्थिक वर्षमा कुल बजेटमध्ये दुई खर्ब ९७ अर्ब ७२ करोड वैदेशिक सहायताबाट व्यहोर्ने लक्ष्य राखेको थियो ।

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले सार्वजनिक गरेको जेठसम्मको वैदेशिक सहायतासम्बन्धी प्रतिबद्धता तथा सम्झौताको प्रतिवेदन तथ्यांकले यस्तो देखाएको हो । जसअनुसार अन्तर्राष्ट्रिय दातृ निकायहरूले एक खर्ब २९ अर्ब ८४ करोड ऋण र ४० अर्ब ६७ करोडको अनुदान सहायता दिने प्रतिबद्धता गरेका छन्  ।

यो प्रतिबद्धता लक्ष्यभन्दा कम छ ,साथै ऋण प्राप्ति पनि झनै कमजोर देखिएको छ । खर्बभन्दा बढीको प्रतिबद्धता आए पनि प्राप्त हुने ऋण भने निकै कम छ । चालू आर्थिक वर्षमा सरकारले ७९ अर्ब ६७ करोड विदेशी ऋण प्राप्त गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । यो चालू आर्थिक वर्षको जेठसम्म प्राप्त भएको ऋण हो ।

चालू आर्थिक वर्षमा सरकारले दुई खर्ब ४२ अर्ब २६ करोडको विदेशी ऋण र ५५ अर्ब ४६ करोडको अनुदान उठाउने लक्ष्य राखेको थियो । सरकारी लक्ष्यअनुसार वैदेशिक सहायता नआएको र राजस्वसमेत लक्ष्यभन्दा कम आएपछि हाल आन्तरिक ऋणमार्फत खर्च व्यवस्थापन गरिरहेको छ । जेठसम्ममा दुई खर्ब २० अर्ब ३८ करोडबराबरको आन्तरिक ऋण उठाइसकेको कार्यालयले जानकारी दिएको छ । तर, एक खर्ब ६४ अर्ब रुपैयाँ भने आन्तरिक ऋणको साँबाब्याज भुक्तानीमै खर्चिनुपरेको छ ।