एकाग्रता के हो ?

राजेन्द्र पुडासैनी

हुन त असम्भव भन्ने कुरा नै हुँदैन । एकजना राजनीतिज्ञको विचारमा ‘असम्भव शब्द केवल मूर्खहरूको शब्दकोषमा मात्र पाइन्छ’ । अब चिन्तन गरौ, एकाग्रताको । एकाग्रता अर्थात् ऋयलअभलतचबतष्यल को अर्थ हो एउटै कुरामा मात्र मन वा ध्यान दिनु । आज मानिसहरू यही एकाग्रताको अभावमा मानसिक रोगी, डिप्रेसन र तनावका शिकार भइरहेका छन् । पढ्न खोज्यो पढाइमा मन जादैन । लेख्न खोज्यो लेख्नै मन लाग्दैन वा सकिँदैन । यसको मुख्य कारण नै एकाग्रता नभएर हो । जब एकाग्रता भङ्ग हुन्छ अनि चञ्चलता झाङ्गिन्छ । मन एकदम चञ्चल हुन्छ । मनलाई बन्धन र मोक्षको कारण मानिएको छ– मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः । मनमा जब अनेक कुरा खेल्न थाल्छ– तब अनगिन्ती इच्छा, चाहना र विचार उत्पादन हुन थाल्छ । यिनै अनेक विचारले लोभ, लालसा, ईश्र्या, प्रतिशोध, घमण्डजस्ता विचार उत्पन्न गर्न थाल्छ ।

 

‘एकाग्रतापूर्वक गरिएको विचारले असम्भवलाई पनि सम्भव तुल्याउँछ’– खप्तड स्वामी

वैज्ञानिक अल्बर्ट आइन्सटाइनको मष्तिस्क नै सबैभन्दा बढी प्रयोगमा आएको मानवीय मष्तिस्क भएको अनुसन्धानले देखाएको छ । हुन त ठूला चिन्तक, विचारक, दार्शनिकहरू, लेखक, कलाकार पनि आफ्नो साधनामा ध्यानमग्न भएर लागिरहन्छन् । वैज्ञानिकको चिन्तनले नै मङ्गल ग्रहमा यान पठाउनेदेखि चन्द्रमामा पाइला राख्ने बनाएको छ । यस्तै दार्शनिकका दर्शन र धर्मगुरुका धार्मिक उपदेश पनि चिन्तनकै उपज हुन् । एउटा सुन्दर विचार नै प्रत्येक व्यक्तिको सफलताको कडी हो । सफलता स्वच्छ र सुन्दर विचारको प्रतिफल हो ।

गीतामा भगवान् कृष्णले चञ्चल मनलाई नियन्त्रण गर्ने उपाय भनेको अभ्यासलाई मान्नुभएको छ । मन लगामबिनाको घोडाजस्तै यताउति भड्किरहन्छ । जसरी लगाम लगाइदिएपछि घोडालाई नियन्त्रण गर्न सकिन्छ । त्यसै प्रकारले मनलाई नियन्त्रण गर्न अभ्यासको आवश्यकता पर्दछ । यसलाई ध्यान, योग, साधना र तपस्याको माध्यमबाट नियन्त्रणमा राख्न सकिन्छ ।

भनाइ नै छ– रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हो । एकाग्रता प्राप्त गरेपछि मानसिक रोग वा तनाव अनि डिप्रेशन हराउन थाल्छ । आजकल मानिसहरू योगको अर्थ व्यायामको रूपमा हेर्छन् । अनुलोम विलोम, कपालभातीजस्ता योग केवल व्यायाममात्र हुन । योगको अर्थ जोड्नु हो । यसले आत्मालाई परमात्मासँग जोड्दछ । शारीरिक व्यायाम गर्नु योग होइन । मनको गति प्रकाशको भन्दा तीव्र हुने भएकोले शारीरिक व्यायाम गर्दैमा मन शान्त वा स्थिर हुनै सक्दैन । यसलाई केवल ईश्वरको चिन्तनमा लगाउनुपर्छ । तपस्या भनेको शरीर र इन्द्रियलाई नियन्त्रण गरी केवल ईश्वरको साधना गर्नु तपस्या हो । लंकाका राजा रावणले शिवजीको कठोर तपस्या गरेर वरदान पाए । बालक ध्रुवले विष्णु भगवान्को तपस्या गरी वर पाए तर अन्य मानिसमा यो सम्भव भएन, किनकि मानिसहरूले तपस्या गर्न सकेनन् त्यसैले वर पनि पाएनन् । हाम्रा धार्मिक गुरुहरू के शिक्षा दिन्छन् भने कलियुगमा तपस्या गर्न सम्भव हुँदैन । त्यसैले हरिनाम संकीर्तन गर्नुपर्छ । यो सत्य हो कि कलियुगमा मानिसको आयु छोटो हुन्छ । लगभग सय वर्ष । आयु छोटो हुने हुँदा तपस्याको अवधि कम हुन जान्छ । तर केवल हरिनाम संकीर्तनमात्र केही होइन । कलियुगको प्रारम्भ भएको पाँच हजार वर्षभन्दा बढी भएको छ । कलियुगमै राजकुमार सिद्धार्थले छ वर्षभन्दा बढी साधना गरेर बुद्धत्व प्राप्त गर्नुभएको थियो । तपस्या एकाग्रताको सर्वोक्त माध्यम हो । एकाग्रताविनाको तपस्या देखावटी साधनामात्र हुन जान्छ । हरिनामले मात्र मोक्ष मिल्ने भए अधिकांश मानिस मोक्ष प्राप्ति गर्न पुग्छन् ।

कतिपय समस्याको समाधान वा निर्णय मानिसले निदाएको बखत सपनामा समेत प्राप्त गरेको उदाहरण छन् । मस्त निद्रामा समेत जाग्राम अवस्थामा गरिएको एकोहोरो चिन्तनको कतिपय समस्या निराकरण हुन्छन् । मस्त निद्रा पनि एकप्रकारको एकाग्रता नै हो । शारीरिक श्रम नगर्ने, चोरी फट्याइँ गर्ने, मनमा नानाप्रकारका कुरा खेलाइरहने, अर्काको रिस र डाहा गर्नेहरू, छट्पटाइमा बस्नेहरू अस्थिर मनका हुन्छन् । सम्पत्तिमात्र हुँदैमा हामीलाई मीठो निद्रा प्राप्त हुँदैन । अमेरिकाजस्ता धनाढ्यका मुलुकमा सुत्न नसकेर कतिपय मानिस स्लिपिङ ट्याब्लेट प्रयोग गर्छन् ।

आज कतिपय चिकित्सकले डिप्रेशन, मानसिक समस्या निको हुने भन्दै औषधि दिन्छन् । यस्ता औषधिको प्रयोगले साइड इफेक्ट त निम्त्याउँछ नै जीवनभर औषधि प्रयोग गर्नुपर्ने पनि हुन सक्छ । त्यसैले यस प्रकारको समस्यालाई प्राकृतिक उपचारको प्रयोगबाट निदान निकाल्न पर्ने हुन सक्छ । त्यसैले पूजापाठ, भजन, जप र ध्यानका माध्यमले मनलाई स्थिर पार्नु उत्तम उपाय हुन जान्छ । धेरैजसो मानिस अरूको कुरा काट्ने वा आलोचना गर्ने गर्छन । उनीहरू आफ्नो भन्दा अरूकै चिन्तनमा मन लगाउँछन् । उनीहरू अरूप्रति नकारात्मक सोच बनाउँछन्– जसको परिणाम सम्पूर्ण शरीरभर नै दूषित रगत सञ्चार हुन थाल्छ । यस्ले उनीहरूलाई अरूको कुभलो गर्ने र अरूलाई खाल्टो खन्नमात्र सिकाउँछ । यस्ता मानिस कसरी एकाग्र हुन सक्छन् र ? उनीहरूलाई टाउको दुख्ने, अनिद्रा, डर लाग्ने समस्या देखिनु स्वाभाविक नै हो ।

चाणक्यले असल विद्यार्थीलाई निद्रा, आलस्य त्याग्न सुझाएका छन् । केही पाउन केही गुमाउनै पर्ने हुन्छ । उनले बकुल्लाको उदाहरण दिँदै यसबाट एकाग्रताको ज्ञान गराएका छन् । बकुल्ला नदीको छेउमा बसेर माछा ढुकेर बस्छ । ऊ एकाग्रतापूर्वक माछालाई पर्खेर बस्छ । जसै माछा पानीमाथि आउँछ, उसले शिकार गर्छ । विद्यार्थीहरू पनि पढाइमा एकाग्र हुनुपर्छ ।

निष्कर्ष के हो भने हाम्रो दिमाग अनगिन्ती इच्छा, आकांक्षा र कुण्ठाले भरिएको छ । त्यसैले यो अधैर्य, अशान्त र अस्थिर छ । दिमागलाई शान्त राख्न पहिलो शर्त हो आफूलाई चिन्नु । म के र को हुँ भनेर प्रश्न गर्दा आफू आत्मा हुँ भन्ने बोध हुन्छ । त्यसै दिन एउटा चमत्कार हुन थाल्छ । मानिस शान्त र स्थिर हुन्छ । उसले रिस, अहंकार, लोभ र प्रतिशोध सबै त्याग गर्छ । उसमा समभाव देखा पर्छ अर्थात् दुःख, सुख आफ्नो÷अर्काे एक लाग्न थाल्छ । उसले सुख, खुसी, शान्ति र आनन्द प्राप्त गर्छ । एकाग्रतापूर्वक आफ्नो पहिचान पाउनु नै आफूलाई चिन्नु हो ।