शिक्षक आन्दोलनले पुगेन विद्यार्थीको हातमा पुस्तक

शिक्षक आन्दोलनले पुगेन विद्यार्थीको हातमा पुस्तक

नयाँ शैक्षिक सत्र सुरु भएसँगै सरकारले देशभर भर्ना अभियान थाले पनि शिक्षक कर्मचारीहरूको आन्दोलनका कारण विद्यार्थीहरूले समयमै पाठ्यपुस्तक पाउन सकेका छैनन्। सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै पुस्तक छपाइ गरी ७७ वटै जिल्लामा बिक्री वितरण गरिसकेको भए तापनि शिक्षकहरूको विद्यालय बन्द गरेर गरिएको काठमाडौँ केन्द्रित आन्दोलनले पुस्तक वितरणमा बाधा पुर्‍याएको छ।

अधिकांश विद्यालयले वार्षिक परीक्षाको नतिजा सार्वजनिक नगरेका कारण पनि नयाँ शैक्षिक सत्रका लागि आवश्यक पुस्तक लिन बाँकी रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ। केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले सबै विद्यालयमा पुस्तक पुगिसकेको तर शिक्षक आन्दोलन र नतिजा प्रकाशनमा ढिलाइका कारण वितरणमा समस्या भएको बताए। उनले विद्यालयहरूसँग समन्वय गरी छिट्टै पुस्तक वितरण गर्ने प्रयास भइरहेको जानकारी दिए।

केही स्थानीय तहले बजेट निकासा नगर्दा पनि पुस्तक गोदाममै थन्किएको खबर आएको छ। तर प्रबन्ध निर्देशक पौडेलले अनुगमन गरी सूचीकृत बिक्रेतामार्फत पुस्तक उपलब्ध गराउने व्यवस्था गरिएको र सबै विद्यार्थीको हातमा पुस्तक पुग्ने दाबी गरे। उनले समस्या परेमा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्। यस शैक्षिक सत्रमा कक्षा १० सम्मका लागि १ करोड ७० लाख ५० हजार थान पुस्तक छापिएको छ।

दुई वर्षअघिसम्म पाठ्यपुस्तक समयमा नपुग्ने समस्या रहेकामा गत वर्षदेखि सुधार आएको थियो। तर यस वर्ष शिक्षकहरूको आन्दोलनले फेरि समस्या निम्त्याएको छ। शिक्षकहरूले शिक्षा विधेयक जारी गर्न माग गर्दै शैक्षिक हडताल जारी राखेका छन्, जसका कारण धेरै सामुदायिक विद्यालयमा नयाँ भर्ना अभियानसमेत रोकिएको छ। रूपन्देहीका केही विद्यालयले सूचना जारी गरी अर्को जानकारी नभएसम्म भर्ना स्थगित गरेका छन्।

यस्तो अवस्थामा सरकार र शिक्षकहरूबीच तत्काल सहमति भएर पठनपाठन सुचारु हुन नसके विद्यार्थीहरूको शैक्षिक भविष्यमा गम्भीर असर पर्ने देखिन्छ।