ऐन जारी गर्न सरकार गम्भीर भएन, वार्ता भाँडिन सक्छः शिक्षक महासंघ

ऐन जारी गर्न सरकार गम्भीर भएन, वार्ता भाँडिन सक्छः शिक्षक महासंघ

नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्न सरकार अझै गम्भीर नभएको निष्कर्ष निकालेको छ । बुधबार बिहान मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बसेको महासंघको बैठकले सरकार गम्भीर नभएकाले सडक आन्दोलनलाई कमजोर नबनाउने निचोड निकालेको हो ।

“हिजो रातिकै वार्तामा शिक्षा ऐन जारी गर्न सरकार गम्भीर नदेखिएको पायौँ । त्यसैले गृहमन्त्रीले नै चेतावनीपूर्ण अभिव्यक्ति दिनुभयो । शिक्षामन्त्रीले पनि के हो यस्तो भन्ने हिसाबले कुरा गर्नुभयो । अझै पनि सरकार गम्भीर छैन,” महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

सरकारले शिक्षा ऐन जारी गर्ने मिति दिन नसकेको उनको भनाइ छ । “सरकारले ऐन जारी गर्ने डेटलाइन दिन सकेकै छैन, त्यसैले आज पनि सहमति नहुने माहोल बन्न पनि सक्छ,” उनले भनिन् ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने सरकारसँगको वार्ता भाँडिन सक्ने चेतावनी दिएका छन् । उनले पनि आफूहरूका माग सम्बोधन नहुने स्थितिमा वार्ता नै भाडिन सक्ने भएकाले सडक आन्दोलनलाई बलियो बनाउनुपनर्ने बताएका छन् ।

“आजको वार्ता पनि सफल हुन्छ भन्ने छैन, साथीहरू । हामीले मागका कुराहरू सरकारले दिएन भने भाँडिन सक्छ । त्यसैले सडकमा सबै साथीहरू उपस्थित हुनुहोला,” सुवेदीले भने ।

शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौंको माइतीघर–बबरमहल–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् । आफूहरूसँग विगतमा भएका सहमतिलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ । सरकारसँग पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन । मंगलबार रातिको वार्तामा शिक्षकले सरकारलाई नौबुँदे प्रस्ताव पेस गरेका थिए ।