गुगल म्यापले दियो धोकाः म्याप हेरेर घुम्न जाँदा भयो जङ्गलको बास

भारत बिहारबाट गोवा घुम्न निस्किएको एउटा परिवार गुगल म्यापको भरमा गोवा घुम्न निस्किएर जङ्गलमै अलपत्र परेको घटना बाहिरिएको छ । ४ डिसेम्बरमा बिहारबाट कारमा घुम्न निस्किएको उक्त परिवार गुगल म्यापमा भर पर्दा हराएपछि जङ्गलमै रात काट्न बाध्य भएको हो ।

 

बिहारका रञ्जित दास, उनकी श्रीमती र अर्को एक जोडी घुम्नका लागि निस्किएका थिए । गाडीका चालक समेत रहेका दासले गोवा पुग्ने बाटोका लागि गुगल म्यापमा लोकेसन राखेका थिए । एपले शिरोली र हेम्मडागा क्षेत्र हुँदै जाने बाटो सुझायो । त्यसैलाई पूर्ण विश्वास गरी दास त्यही बाटोबाट कार हुइँकाए ।

 

लगभग ७–८ किलोमिटर गाडी चलाएपछि उनीहरू अलपत्र परे । गुगलले सुझाएकै बाटो प्रयोग गर्दा उनीहरू बेलगावी जिल्लाको भीमगढ जङ्गलमै हराए । उनीहरू त्यो रात गाडीमै बिताउन बाध्य भए ।

 

त्यो रात जङ्गली जनावरको डर, अपरिचित परिवेश, र सम्पर्कविहीनता— त्यो रात उनीहरूका लागि कहालीलाग्दो बन्यो ।

भोलिपल्ट मोबाइल नेटवर्कको खोजीमा रञ्जित दास झण्डै चार किलोमिटर हिँडे । फोनले नेटवर्क टिपेपछि आपतकालीन सेवा हेल्पलाइन नम्बर ११२ मा सम्पर्क गरे । उनको कलमा प्रतिक्रिया जनाउँदै स्थानीय प्रहरी टोली त्यहाँ पुग्यो र उद्धार ग¥यो ।