अमेरिका र चीनबीच अर्को व्यापार संवाद संयन्त्र बनाउने सहमति

अमेरिका र चीनबीच अर्को व्यापार संवाद संयन्त्र बनाउने सहमति

अमेरिका र चीनबीच स्वीट्जरल्याण्डको जेनेभामा भएको व्यापार वार्तामा उल्लेखनीय प्रगती भएको बताइएको छ। जेनेभामा शनिबार र आइतबार दुई दिनसम्म अमेरिका र चीनबीच भएको वार्ताबाट सकारात्मक र ठोस प्रगती भएको दुवै देशका प्रतिनिधिहरूले बताएका छन्।

यद्यपि दुवै पक्षले के(के सहमति भयो भनेर सार्वजनिक गरेका छैनन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सोमबार दुवै पक्षले संयुक्त वक्तव्य सार्वजनिक गर्दैछन्। चिनियाँ पक्षले वार्ता सकिएको र छिट्टै संयुक्त वक्तव्य जारी हुने भनेको छ।

“चीन र अमेरिकाले वार्तामा भएका विषयहरूलाई अन्तिम रूप दिएर छिट्टै सार्वजनिक गर्नेछन्”  चिनियाँ प्रतिनिधिले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ। ु”उक्त वक्तव्यमा उल्लेख हुने विषयहरू विश्वका लागि खुशीको खबर हुनेछ” व्यापार वार्तामा सहभागी भएका चीनका वाणिज्य उपमन्त्री ली चेङगाङले भनेका छन्।

वार्तामा अमेरिकाबाट अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रीर तथा चीनबाट उपप्रधानमन्त्री हे लाइफेङ र वाणिज्य उपमन्त्री चेङगाङ सहभागी थिए। वार्तापछि अमेरिकी अधिकारीहरूले अमेरिकालाई व्यापार घाटा नपर्नेगरी सहमति भएको दाबी गरेका छन्। चिनियाँ अधिकारीहरुले भने पर्याप्त सहमति भएको बताएका छन्।

छलफलपछि अर्को व्यापार संवाद संयन्त्र बनाउने सहमति भएको रोयटर्सले जनाएको छ। अमेरिकाले चीनमाथि लगाएको १४५ प्रतिशत र चीनले अमेरिकामाथि लगाएको १२५ प्रतिशत भन्सार कटौती गर्ने विषयमा पनि दुवै पक्षले केही खुलाएका छैनन्।

छलफलपछि प्रतिनिधिहरूले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गरेका थिए। उनीहरूले वार्ताबाट पर्याप्त सहमति जुटेको बताएका थिए भने पत्रकारहरूबाट प्रश्न नलिने भनेका थिए। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले दुई देश छिट्टै सहमतिमा पुगेको बताए।

ुहामी कति छोटो समयमा सहमतिमा पुग्यौं। यसले हामीबीचका मतभेद सोचेजति ठूला थिएनन् भन्ने देखाउँछ,ु उनले भने। उनले चिनियाँ उपप्रधानमन्त्री र वाणिज्य उपमन्त्रीलाई कठिन वार्ताकार पनि भनेका छन्।

अमेरिका र चीनबीचको वार्ता सकारात्मक भएको खबरपछि दुवै देशको शेयर मार्केट बढ्न थालेको अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ।