एआईको तीव्र विस्तारबीच चीनमा रोजगारी संकटमा

एआईको तीव्र विस्तारबीच चीनमा रोजगारी संकटमा

चीनमा कृत्रिम बौद्धिकता (एआई) अपनाउने प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ, तर यसका साथसाथै देशको आर्थिक वृद्धिदर सुस्त बन्दै गएको छ, जसले लाखौं नियमित रोजगारी जोखिममा पारेको देखिन्छ। चिनियाँ सुरक्षा प्रविधि कम्पनीका अध्यक्ष झोउ होङयीले आफ्नै कम्पनीको सम्पूर्ण मार्केटिङ विभाग हटाउने योजना सार्वजनिक गरेका छन्। उनले एआई प्रयोगबाट करोडौं युआन बचत हुने दाबी गरेका छन्। उक्त भनाइ भएको भिडियो वेइबो प्लेटफर्ममा १ लाख ९१ हजारभन्दा बढी पटक हेरिएको छ।

झोउका १.२ करोड फलोअर रहेका छन् र उनले आफैंले बनाएको जेनेरेटिभ एआई प्रयोग गरेर पाँच दिनमै प्रेस सम्मेलनको तयारी गरेको दाबी गरेका छन्। बुधबार सार्वजनिक हुने भनिएको सो एआई उपकरणले व्यवसाय सञ्चालनको स्वरूपमा व्यापक परिवर्तन ल्याउन सक्ने अनुमान गरिएको छ। झोउको यस्तो कदम बिक्री प्रवर्द्धनको उपाय हो वा होइन भन्ने बहसको विषय हुनसक्छ, तर यसले एउटा यथार्थ देखाउँछ– कम्पनीहरूले खर्च कटौतीका लागि एआईमार्फत मानव स्रोत घटाउने सम्भावना बढ्दै गएको छ।

यस्तै, अमेरिकी वित्तीय संस्था सिटी ग्रुपले अक्टोबरसम्म चीनमा ३,५०० प्राविधिक कर्मचारी कटौती गर्ने योजना सार्वजनिक गरेको छ। एन्थ्रोपिकका सीईओ डारियो अमोडेईले भने अनुसार आगामी एकदेखि पाँच वर्षभित्र एआईका कारण १०–२० प्रतिशत बेरोजगारी बढ्न सक्छ।

चीनका धेरै कम्पनीहरू मार्केटिङ र कोडिङ क्षेत्रमा एआई प्रयोगमार्फत कार्यक्षमता बढाउने प्रयासमा छन्। ठूला प्रविधि कम्पनीहरूले नयाँ भर्नाका लागि एआई सम्बन्धी सीप अनिवार्य बनाएका छन्। हाङहाङ एआईका सीओओ शु वेइबिङका अनुसार, एआई प्रयोग गर्न नसक्ने विद्यार्थीलाई जागिर पाउन निकै कठिन भइरहेको छ। हाङहाङ एआईले ‘ग्लोबल एआई’ नामक प्लेटफर्म सुरु गरेको छ, जसले उद्यमीहरूलाई जागिरमा रहँदै एआई परियोजनाको लागि लगानी जुटाउने अवसर दिन्छ। हालसम्म ७० लगानीकर्ता र ५० परियोजनाहरू यसमा संलग्न भइसकेका छन्।

सरकारले रोजगारी प्रवर्द्धनको प्रयासस्वरूप एआई र रोबोट प्रविधि प्रयोगमा जोड दिँदै विभिन्न कार्यक्रम सार्वजनिक गरिरहेको छ। वित्त मन्त्रालयले ६६.७४ अर्ब युआन रोजगारीसम्बन्धी अनुदानका लागि छुट्याएको छ भने दुईवर्षे रोबोट हेरचाह परीक्षण कार्यक्रम पनि घोषणा गरिएको छ।

यद्यपि, एआई तत्काल सबै क्षेत्रमा प्रभावकारी बन्ने सम्भावना छैन। कोभिड महामारीपछिको अस्थिर आर्थिक वातावरण, तलब कटौती, बोनस फिर्ता, विभाग बन्दजस्ता कारणहरूले चिनियाँ युवाहरू थप अध्ययनतर्फ आकर्षित भइरहेका छन्। सामाजिक सञ्जालमार्फत व्यापार गर्ने, लाइभस्ट्रीममार्फत उत्पादन बेच्ने जस्ता प्रवृत्ति बढ्दो छ, यद्यपि ती क्षेत्रमा प्रतिस्पर्धा तीव्र छ।

ओभरटाइम संस्कार र हप्ताको अन्त्यमा पनि कामको चापले कामको मूल्यलाई अझै जटिल बनाइरहेको छ। विशेषगरी विद्युतीय गाडी उद्योगमा मूल्य युद्धका कारण अस्वस्थ प्रतिस्पर्धा देखिएको छ, जसप्रति सरकारले चेतावनी पनि दिएको छ। यससँगै अमेरिका–चीनबीचको व्यापार तनावले पनि चीनको निकासीमा नकारात्मक प्रभाव पारिरहेको छ। अमेरिकातर्फको निर्यात गत महिनामा ३४ प्रतिशतले घटेको छ।

गोल्डम्यान साक्सका अनुसार चीनमा १.६ करोड रोजगारी अमेरिकी निर्यातसँग प्रत्यक्ष जोडिएका छन्। मासिक व्यापार सर्वेक्षणहरूले पनि सबै क्षेत्रको रोजगारी स्थिति कमजोर देखाएका छन्, विशेषगरी निर्माण र साना उद्योगमा।

यद्यपि, रोजगारी संकटले चीनमा थप आर्थिक प्रोत्साहनको मार्ग खोल्न सक्छ भन्ने विश्लेषण पनि गरिएको छ। जुलाई अन्त्यतिर हुने भनिएको नीतिगत बैठकमा रोजगारी विषयमा नयाँ रणनीति आउन सक्ने अपेक्षा गरिएको छ।

यसैबीच, अमेरिकी–चिनियाँ व्यापार वार्तामा केही सकारात्मक संकेत देखिएका छन्। दुई देशबीच लन्डन वार्तापछि व्यापारसम्बन्धी रूपरेखामा सहमति भएको छ। त्यस्तै, राष्ट्रपति डोनाल्ड ट्रम्प र सी जिनपिङबीचको फोन वार्ताले केही हदसम्म तनाव कम गरेको आकलन गरिएको छ।

चीनको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) लगातार चौथो महिना नकारात्मक देखिएको छ। यद्यपि, कोर सीपीआई भने सुधारोन्मुख छ। निर्यातमा केही वृद्धि भए पनि आयातमा अपेक्षाभन्दा धेरै गिरावट देखिएको छ, जसले घरेलु माग कमजोर रहेको संकेत गर्छ।

अर्कोतर्फ, हुवावेको चिप विकासलाई लिएर अमेरिकी प्रतिक्रिया अत्याधिक भएको चिनियाँ सीईओहरूको भनाइ छ। हुवावेले आफ्ना चिपहरू अमेरिकी चिपको तुलनामा एक पुस्ता पछाडि रहेको स्वीकारे पनि सो अन्तर घटाउने योजनामा सक्रिय रहेको बताएको छ।