कुलिङ पिरियडमा भएको चलखेल सुविचारित षड्यन्त्र हो, समिति सभापति र सचिवले राजीनामा दिनुपर्छः सापकोटा
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कुलिङ पिरियडमा भएको शब्दको चलखेल सुविचारित तरिकाले गरिएको षड्यन्त्र भएको बताएका छन्।
सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले मुख्यसचिव र महासचिवको नेतृत्वमा राष्ट्रिय सभा र प्रतिनिधि सभामा जुन देउसी खेलिएको पृष्ठभूमिबाट यो स्पष्ट हुने बताए।
राज्य व्यवस्थामा सैद्धान्तिक र राजनीतिक रुपमा समझदारी कायम भएपछि समितिको बैठक नबोलाइकन राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले प्रतिवेदन बुझाएको बताए। यो सुविचारित षड्यन्त्र भएको र यो संसदमाथिको गम्भीर अपराध भएको बताए। नैतिक रुपमा समितिको सभापति र सचिवले राजीनामा दिनुपर्ने बताए। उच्चस्तरीय वा संसदीय छानबिन समिति बनाएर कारबाही गर्नुपर्ने बताए।
उनले छानबिनको अवस्था नबनेसम्म राज्य व्यवस्था समितिको बैठक बस्न नसक्ने बताए। सरकारले फागुन २०८० मा संसद्मा दर्ता गराएको विधेयकमा ‘संवैधानिक, कूटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नेपाल सरकारको पूर्वस्वीकृति नलिई सेवा निवृत्त भएको मितिले दुई वर्षसम्म काम गर्नु नहुने’ व्यवस्था थियो ।
यो प्रबन्धले संवैधानिक र राजनीतिक नियुक्तिमा कुनै अवरोध थिएन। सरकारीबाहेक निजी तथा गैरसरकारी संस्थामा नियुक्ति लिन मात्र सरकारको स्वीकृति चाहिने उद्देश्य राखिएको थियो । समितिबाट पारि«त भएको विधेयकमा संवैधानिक वा कूटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द नराखिएको तर प्रतिनिधि सभामा पुग्दा बाहेक भन्ने शब्द राखेको पाएकाले प्रश्न उठेको छ।



