पछिल्लो पाँच वर्षमा साइबर अपराधका ५६ हजारभन्दा बढी उजुरी

पछिल्लो पाँच वर्षमा साइबर अपराधका ५६ हजारभन्दा बढी उजुरी

पछिल्लो समय नेपालमा सामाजिक सञ्जालमार्फत हुने साइबर अपराधको संख्या तीव्ररुपमा वृद्धि भएको देखिएको छ। प्रहरीको साइबर ब्युरोको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म कुल ५६ हजार ७०६ उजुरी परेका छन्।

चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्म मात्रै १६ हजार ७१३ उजुरी परेको ब्युरोले जनाएको छ। ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार, अहिले प्रत्येक महिना झण्डै २ हजार उजुरी आइपुग्ने गरेका छन्।

आइतबार साइबर ब्युरोले ३१ वर्षीया रमा बस्नेतलाई सामाजिक सञ्जाल टिकटक मार्फत जातीय तथा साम्प्रदायिक भावनामा खलल पुर्‍याएको अभियोगमा पक्राउ गरेको छ।

एसपी अवस्थीद्वारा जारी विज्ञप्तिमा बस्नेतले “नियमित तथा नियोजित रुपमा भ्रम सिर्जना गर्दै प्रतिष्ठामा आच पुर्‍याउने सामग्री सार्वजनिक गरेको” उल्लेख छ। उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धानका लागि थुनामा राखिएको छ।

यसअघि, पत्रकार दिलभूषण पाठकले तयार पारेको होटल हिल्टन खरिद सम्बन्धी भिडियोमा शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवा जोडिएको विषयमा पनि ब्युरोले पक्राउ अनुमति लिएको छ। जयवीरले भ्रम सिर्जना गरिएको आरोपमा उजुरी दिएका हुन्। हाल पाठक प्रहरी सम्पर्कबाहिर छन् भने उच्च अदालत पाटनले उनको धरपकड नगर्न आदेश दिएको छ।

साइबर ब्युरोको अभिलेख अनुसार चालु आर्थिक वर्षमा फेसबुकमार्फत ८,८५७ र टिकटकमार्फत २,४०६ उजुरी परेका छन्।

गत आर्थिक वर्षमा फेसबुकमार्फत १६,०९६ र टिकटकबाट ६९० उजुरी परेका थिए। यस्ता उजुरीहरूमा निजी गोपनीयता उल्लंघन, ब्ल्याकमेलिङ, चरित्र हत्या, धम्की र ठगी मुख्य छन्।

गएको आर्थिक वर्षमा मात्र ३८२ जना बालिकाले र २५३ बालकले साइबर अपराधको उजुरी दिएका छन्। यो तथ्यांकले इन्टरनेट प्रयोगको दुरुपयोगले कम उमेरका बालबालिका पनि पीडित हुने अवस्था सिर्जना भएको देखाउँछ।

साइबर ब्युरोले हाल सामाजिक सञ्जालको निगरानीका लागि छुट्टै डेस्क स्थापना गरेको छ। आपत्तिजनक वा भ्रम सिर्जना गर्ने सामग्रीप्रति निगरानी गरी प्रहरीकै प्रतिवेदनका आधारमा कारबाही अगाडि बढाउने गरिएको छ।

यद्यपि, नेपालमा सामाजिक सञ्जाल नियमनको स्पष्ट कानुनी संरचना अभावमा केही सीमितताहरू पनि रहेको प्रहरी अधिकारीहरूको भनाइ छ।