चालू १० महिनामा दुई हजार ४१ विदेशीले लिए श्रम स्वीकृति

चालू १० महिनामा दुई हजार ४१ विदेशीले लिए श्रम स्वीकृति

चालू आर्थिक वर्षको १० महिनामा नेपालमा रोजगारीका लागि दुई हजार ४१ विदेशी श्रमिकलाई श्रम स्वीकृति दिइएको छ । नेपालमा दक्ष श्रमिक अभाव हुँदा विदेशी श्रमिक राख्न पाउने व्यवस्थाअनुसार साउनदेखि फागुनसम्म सो संख्याका विदेशीलाई श्रम स्वीकृति दिइएको हो ।

यो संख्यामध्ये नयाँ श्रम स्वीकृति लिने गैरनेपाली नागरिक सात सय १० र नवीकरण गर्नेको संख्या एक हजार तीन सय ३१ रहेको छ । गत वर्षको यही अवधि अर्थात् (साउन–वैशाख) मा नयाँ श्रम स्वीकृति लिने विदेशीको संख्या सात ४३ र नवीकरण गर्नेको संख्या एक हजार एक सय १९ थियो । यो संख्या गत आवको तुलनामा चालू आव फागुनसम्म एक सय ४१ जनाले बढी रहेको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक मणिनाथ गोपले आर्थिक वर्षको सुरुमा श्रम स्वीकृति लिने विदेशी श्रमिक घटेको देखिए पनि पछि क्रमश: बढ्दै गएको बताए । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको संख्या स्थिर रहेको देखिन्छ ।

विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका, २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरिए पनि नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष कामदारसमेत यहाँ आउने गरेको पाइन्छ ।