वैदेशिक रोजगारीमा घरेलु कामदार जिटुजीमार्फत् पठाउन सरोकारवालाको आग्रह

वैदेशिक रोजगारीमा घरेलु कामदार जिटुजीमार्फत् पठाउन सरोकारवालाको आग्रह

वैदेशिक रोजगारीका लागि घरेलु कामदार पठाउँदा सरकारी संयन्त्रमार्फत्—सरकारदेखि सरकार (जिटुजी)—पठाउनु पर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन्।

सोमबार ‘सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम)’ द्वारा आयोजित कार्यक्रममा बोल्दै सांसद रमा कोइरालाले गन्तव्य मुलुकको सुरक्षाको ग्यारेन्टीसहित कामदार पठाउनुपर्नेमा जोड दिइन्। उनले भनिन्, “गन्तव्य मुलुकले यति कामदार किन चाहन्छ, भनेर हामीले प्रश्न गर्नुपर्छ, र जिटुजीमार्फत् किन पठाउन सक्दैनौं भन्ने बहस गर्नुपर्छ।”

उनले घरेलु काममा विशेषगरी महिलाहरू धेरै जानुपर्ने भएकाले उनीहरूलाई अधिकारबाट बञ्चित नगरिनु पर्ने बताइन्।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले गन्तव्य मुलुक पुगेका धेरै महिला कामदारहरू जोखिममा पर्ने भएकाले सरकारी तहबाट सुरक्षा सुनिश्चित गरेर मात्र पठाइनुपर्नेमा जोड दिइन्। उनले भनिन्, “महिला मात्र होइन, पुरुषहरू पनि जोखिमपूर्ण काममा जान बाध्य छन्, जिटुजीमार्फत् पठाइएमा जोखिम न्यून हुन्छ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्त बहादुर बोहराले सरकारले श्रमिकको सुरक्षाका लागि काम गरिरहेको जानकारी दिए। उनले श्रमिकहरू कुन देशमा के गरिरहेका छन् भन्ने थाहा हुने ट्र्याकिङ सिस्टम निर्माणको काम अघि बढिरहेको जानकारी गराए।